फुङ्लिङ । नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ ।
पक्राउपर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका–४ साँवाका पेम्बा शेर्पासँग रु २० हजार लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए ।
पक्राउपर्ने लिम्बूलाई ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।
३५ हजारले लगाए कोरोनाविरुद्धको खोप
जिल्लामा सुरुदेखि हालसम्म ३५ हजार नगरिकले कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएका छन् । जिल्लामा १८ वर्ष पूरा भएका सबैलाई पुग्नेगरी खोप आएको भए पनि नागरिकले खोप प्रति चासो नदेखाएको पाइएको छ ।
जिल्लामा १८ वर्ष उमेर समूहका करिब ८३ हजार नागरिक रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायले जानकारी दिए । तर पछिल्लो समय दुई चरणमा सञ्चालित खोप अभियानमा करिब १५ हजार जनाले मात्र खोप लगाएको उनले बताए ।
यस अवधिका ५० हजारले कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखेकामा करिब ३० प्रतिशतले मात्र खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।