स्थानीय तहको कानुनलाई बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्थानीय तहको कानुनलाई बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्रालयले म्याग्दीमा आयोजना गरेको स्थानीय तहको कानुन निर्माण तथा कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले स्थानीय तहको कानुन बनाउँदा प्रदेशसँग नबाझिने गरी बनाउने बताए ।

उहाँले मन्त्रालयले पुनरावलोकन समिति गठन गरेको र स्थानीय तहको कानुन निर्माणमा देखिएका समस्यालाई सो समितिमा राखेर प्रक्रियागत ढंगबाट सम्बोधन गरिने बताए । ‘हामीले पुनरावलोकन समिति गठन गरेका छौं । स्थानीय तहलाई काम गर्न सहज हुने गरी कानुन निर्माण गर्नुपर्ने आवश्यकता छ । स्थानीय तहको कानुन बनाउँदा प्रदेशसँग नबाझिने गरी बनाउने प्रयत्नमा छौं । त्यसैले स्थानीय तहमा देखिएका समस्यालाई पुनरावलोकन समितिमा राखेर सम्बोधन गरिनेछ ।’, उनले भने ।
मन्त्री थापाले जनताले अपनत्व गर्ने कानुन निर्माण गरी सहज र सरल रुपमा सेवा प्रवाह गर्न म्याग्दीको स्थानीय तहलाई निर्देशन दिएका छन् । यो सरकार जनताको सरकार हो, त्यसैले जनताले संघीयताको अपनत्व गर्ने गरी नीति निर्माण बनाउन तर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको भनाई उनको छ ।
कार्यक्रमको उद्देश्यका विषयमा प्रकाश पार्दै मन्त्रालयका सचिव धर्मराज कुँइकेलले नेपालमा संघीयता प्रारम्भ पछि स्थानीय तहहरु आफैमा पूर्ण सरकारको रुपमा कार्य सञ्चालन गरिरहेको बताए । उहाँले सुरुवातका समयमा प्रदेशमा कानुन निर्माणका कार्यहरु भएको र हाल स्थानीय तहहरुले नै कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाको रुपमा काम गर्दै आएको जानकारी गराए ।

उनले मन्त्रालयको अन्तरक्रिया कार्यक्रम मार्फत कानुन कार्यन्वयनमा के कति अप्ठ्याराहरु छन् अनुभवका आधारमा आदानप्रदान गर्ने उद्देश्य रहेको बताऐ । स्थानीय तहको कानुन बनाउँदा प्रदेशको कानुनसँग नबाझिने गरी कानुन बनाउनुपर्ने धारणा उनको छ । ‘प्रदेशको कानुन नबन्दिएको कारण स्थानीय कानुन बनाउन अप्ठ्यारो परेको अवस्था छ । केन्द्रको कानुनका कारण प्रदेशका कानुन कार्यन्वयनमा कठिनाई आइरहेको छ ।’, उनले भने । प्रदेशमा हाल कानुन मन्त्रीको संयोजकत्वमा प्रत्येक विषयगत मन्त्रालयका सचिव रहने गरी पुनरावलोकन समिति रहेको जानकारी सचिव कुँइकेलले गराए ।

बेनी नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक सञ्जु बडुवालले दक्ष प्रशिक्षकको अभाव हुनु न्यायिक समितिमा देखिएको समस्या भएको उल्लेख गरिन् । उनले सो समस्यालाई तत्काल समाधान गरी छिटो छरितो रुपमा जनताले न्याय पाउनेगरी समितिले भूमिका खेल्नुपर्ने आवश्यकतालाई औंल्याएकी छन्
म्याग्दी जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र पौडेलले स्थानीय तहले भोग्नुपरेका समस्याहरुको सम्बन्धमा संघ र प्रदेश सरकारबाट ऐन कानुन बनेर नआउँदा विकास निर्माण लगायतका कामहरुमा अप्ठ्यारो परिरहेको बताएो । उनँले बनसँग सम्बन्धीत, क्रसर उद्योगसँग सम्बन्धीत लगायतका कानुनी व्यवस्था अव्यवहारिक भएको उल्लेख गरे । कानुन बनाउँदा कार्यन्वयनयोग्य कानुन बनाउनुपर्ने धारणा उनको छ ।
कार्यक्रम छलफलमुलक भएको थियो । उठेका प्रश्नको जवाफ मन्त्रालयका सचिवहरुले दिनुभएको थियो । मन्त्रालयले प्रदेशका अन्य जिल्लामा समेत सोही कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कमेन्टहरु
Loading...