बागलुङ । लगातार ४ दिनको वर्षातले बागलुङ जिल्लाभर १०० रोपनी भन्दा बढी क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । तराईका जिल्लामा जस्तो ठूलो क्षति नभए पनि पाक्न थालेको धानमा पानी र हावाले क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए।
“जिल्लाको सबै पालिकाबाट हामीले क्षतिको विवरण सङ्कलन गरिराखेका छौँ” केन्द्र प्रमुख भट्टराईले भने, सबै पालिकाबाट यकिन तथ्याङ्कभने आउन बाँकी छ । सय रोपनी क्षेत्रफलमा लगाइएको धानबाली पूर्ण रुपमा क्षति भएको र अन्य स्थानमा आशिंक क्षति भएको उनले बताए ।
जिल्लामा १८ हजार ६०० मेट्रिक टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ । घरमा धान भित्र्याउनका लागि काटेर सुकाउनुभएका जिल्लाको निसीखोला गाउँपालिका–५ का नरसिंह घर्तीले साँढे १० मुरी उत्पादन हुने खेतको धानमा क्षति पुर्याएको बताए ।
मार्सी जातका धान लगाएकाले अरु धान भन्दा छिटो पाकेको हुँदा दसैँलगत्तै काटेर भित्र्याउने चटारोमा रहेका किसान बढी मर्कामा छन् । निसीखोला क्षेत्रमा अधिकांश जडन प्रजातिका धान लागउने भएकाले धेरै क्षति हुन पाएको छैन । मार्सी जातको धान लगाएका किसानलाई भने यो बेमौसमी वर्षाले दुःखी बनाएको छ ।