पुतलीबजारका पाँच औषधि पसललाई कारबाही

वालिङ । स्याङ्जाको पुतलीबजार नगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच औषधि पसललाई कारबाही गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले औषधि पसल, क्लिनिक, फार्मेसीमा आइतबार गरेको अनुगमनका क्रममा त्रुटि देखिएका पाँच औषधि पसललाई कारबाही गरी जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए । सहायक प्रजिअ शर्माका अनुसार म्याद गुज्रेका औषधि बिक्री वितरण गरेको, अनुमति लिएभन्दा बढी सेवा प्रवाह गरेको र तोकिए अनुसारका मापदण्ड पूरा नगरेका औषधि पसल कारबाहीमा परेका हुन् ।

“पहिलो चरणमा आठ वटा औषधि पसलमा सचेत गराइएको र पाँच वटालाई साङ्केतिक कारबाहीस्वरुप न्यूनतम जरिवाना गरेको ”, सहायक प्रजिअ शर्माले भने, “औषधि व्यवसायीलाई अहिले भएका कमिकमजोरीलाई सुधार्न र आगामी दिनमा थप सचेत हुन सुझाव दिएका छौँ ।” अहिले न्यूनतम जरिवाना गरिएको र आगामी दिनमा फेरि यस्तै कमजोरी दोहोरिएमा प्रचलित कानूनअनुसार कडा प्रावधानमा टेकेर कारबाही गरिने उनले बताए।

कारबाहीमा पर्ने स्वास्थ्य संस्थामा स्याङ्जा हेल्थ केयर, अशोक फर्मा, शुभसङ्गीता फर्मा, सतिदेवी पोलिक्लिनिक र मोनिका मेडिसिन स्टोर रहेका छन् । मोनिका मेडिसिन स्टोरलाई रु पाँच हजार र अन्य चार वटालाई रु १०÷१० हजारका दरले जरिवाना गराइएको उनले जनाए। जरिवाना तथा कारबाहीमा परेका स्वास्थ्य संस्थाले आंशिक सेवाका लागि अनुमति लिएर तोकिएभन्दा बढी सेवा प्रवाह गरेको भेटिएको थियो ।

कमेन्टहरु
Loading...