राम बहादुर रोकाहा/स्याङ्जा । वालिङ्ग नगरपालिका-१० स्थित मोदिखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने १७ जना घाइते भएका छन् ।
आइतबार बेलुकी अन्दाजी ६ : ५० बजेको समयमा वालिङ् मोदिखोलाको भित्री सडकखण्डमा वालिङ् बाट लाखुडाँडा जाने क्रममा उकालोमा अचानक ब्रेक फेल हुँदा आफै अनियन्त्रित भई बाटोदेखि करिब ५० मिटर तल खस्दा ग १ ज ४९१८ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
जिपमा सवार १९ जना यात्रु मध्ये १३ जनाको चोट मध्यम , ३ जना गम्भीर , जिप चालकलाई सामान्य चोट लागेको छ र दुईजनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा परि घाइते भएकालाई प्राथमिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ् पठाइएकोमा गल्याङ नगरपालिका-१० बस्ने ७७ वर्षीय दल बहादुर पल्ली र ३२ वर्षीय गङ्गा पल्लीको उपचारको क्रममा मृत्यु भएको डिएसपी अधिकारीले बताए ।
त्यस्तै गम्भीर घाइते हुनेहरु गल्याङ नगरपालिका -१० बस्ने २६ महिनाका अर्चल बि.क. , ४ वर्षीय करिश्मा थापा र ५५ वर्षीय लिला कुमारी पल्ली रहेको प्रहरीले बताएको छ ।
जिप चालक गल्याङ नगरपालिका-१० बस्ने ३१ वर्षीय रुद्र बहादुर थापालाई समेत सामान्य चोट लागेको छ ।
अन्य घाइतेहरु गल्याङ नगरपालिका-१० बस्ने ५५ वर्षीय राम बहादुर पल्ली , ३ वर्षीय किरण पल्ली , २४ वर्षीय तिर्सना बि.क., २२ वर्षीय विष्णु थापा , २७ वर्षीय अर्जुन थापा , ६० वर्षीय हुमा पल्ली , ५६ वर्षीय रिता गाहा, २ वर्षीय एन्जल गाहा , २२ वर्षीय पुष्पा पल्ली , ४५ वर्षीय भिम कुमारी पल्ली , ३ वर्षीय एमना पल्ली , २४ वर्षीय सपना थापा र २ वर्षीय नवीन थापा रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि करिश्मा थापा , अर्चल बि.क. , विष्णु थापा , अर्जुन थापा , लिला कुमारी पल्ली र पुष्पा पल्ली लाई थप उपचारका लागि मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ ।
जिप चालकलाई नियन्त्रणमा लिई घटाना सम्बन्धी थप अनुसन्धान कार्य अगाडि बढाइएको डिएसपी अधिकारीले बताए ।।