वालिङ । स्याङ्जाका नौ पालिकामा निर्वाचन सम्पन्न भएको छ । एघार पालिका रहेको जिल्लामा सहमति र निर्वाचन प्रक्रियामार्फत नेतृत्व टुङ्गिएको हो भने दुई वटामा बाँकी छ ।
स्याङ्जाका भीरकोट, पुतलीबजार, चापाकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, अर्जुनचौपारी, बिरुवा, हरिनास गाउँपालिकामा निर्वाचन सकिएको हो । सहमतिका लागि वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा नतिजा आउन सकिरहेको छैन । यी दुई पालिकामा आज निर्वाचन गर्ने तालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ ।
जिल्लाको भिरकोटमा यामप्रसाद अधिकारी, गल्याङमा श्यामप्रसाद बस्याल, पुतलीबजारमा सुरजकुमार अधिकारी र चापाकोट नगरपालिकामा बिक्रम सारु नगर सभापतिमा निर्वाचित भएका छन् ।
बिरुवामा डोलराज पोख्रेल, हरिनासमा टोपबहादुर भुजेल, अर्जुनचौपारीमा विष्णु काफ्ले, फेदीखोलामा महेन्द्र थापा, आँधीखोला गाउँपालिकामा नरेन्द्र पौडेल सभापतिमा निर्वाचित भए ।
स्याङ्जाको वालिङ नगरपालिकामा सहमति जुटाउनका लागि गरिएको प्रयास सफल नभएपछि आज बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु हुने भएको छ । सभापति पदमा नेत्रप्रसाद पाण्डे र भूपराज बगाले चुनावी मैदानमा छन् । कालीगण्डकी गाउँपालिकामा पनि सहमतिको प्रयास सफल नभएपछि आज निर्वाचन हुने भएको छ ।