तनहुँ संवादाता । प्रहरीले लागु औषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका वडा नम्वर ६ बस्ने २५ वर्षीय आकास मगर, स्याङजा पुतलीबजार नगरपालिका वडा नम्वर १४ बस्ने १८ वर्षीय अजय भन्ने जगदिश क्षेत्री र कास्की पोखरा महानगरपालिका वडा नम्वर १७ विरुवा बस्ने १८ वर्षीय समिप मगर रहेका छन् ।
प्रहरीले बन्दीपुर गाउँपालिका वडा नम्वर ४ नयाँपुलबाट लागु औषधसहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।
‘नयाँपुलमा लागु औषधको कारोबार भैरहेछ भन्ने गोप्य सुचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइ खानतलासी गर्दा झोलाभित्र लुकाइछिपाइ राखेको अवस्थामा अवैध लागु औषध १ केजी गाँजा भेटिएको हो,’ उनले भने ।
तीनै जनालाई लागु औषध गाँजा मुद्धामा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ अनुसन्धान भैरहेको छ ।