बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ ।
दशरथचन्द नगरपािलका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिएका छन् ।
मामाघर दोगडाकेदार आएका महेशमाथि नारायणले आज बिहान साढे ११ बजेतिर घरमै हतौडा प्रहार गरेका हुन् । हतौडा प्रहार भएलगत्तै महेशको घटनास्थलमै निधन भएको हो । के कति कारणले हत्या भयो भन्नेबारे खुल्न नसकेको खोचलेक प्रहरी चौकीले जनाएको छ ।
महेश आफ्नी आमासँगै मामाघर आएको बताइएको छ । नारायणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थल जाने तयारीमा छ । रासस