‘नौटङ्की माया’ लोकार्पण

प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले केशव रिमालद्वारा लिखित ‘नौटङ्की माया’ कथा सङग्रहको बिहीबर इटहरीमा लोकार्पण गरेका छन् ।

डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकाशनमा ल्याएको कथाकार रिमालको यो पहिलो कथा सङ्ग्रह हो । विभिन्न नौ शीर्षकमा रहेका कथाहरु समावेश भएको कथा सङ्ग्रहका सम्बन्धमा आरसी थपलिया, हिमराज अधिकारी, यजुर्वेदानन्दप्रसाद भट्टराईलगायतले चर्चा गरेका छन् ।

सो अवसरमा प्रदेश प्रमुख अधिकारीले साहित्य मानव जीवनको सबैभन्दा सुन्दर पक्ष हो भन्दै साहित्यिक कृति लोकोपकारको पक्षमा हुनुपर्ने बताए। उनले साहित्य देश, समाज, धर्म, परम्परा, रीतिरिवाज, मनोविज्ञानसँग जोडिने भएकाले यो हामीभन्दा टाढा रहन नसक्ने र यस किसिमका साहित्यिक कृति समाज परिवर्तनतर्फ मुखरित हुनुपर्ने बताए ।

कथा सङ्ग्रहमा सामाजिक, राजनीतिक र माया प्रेमका विषयलाई समेटिएको छ । डियर कल्याण साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष विनोद विवश घिमिरे तथा प्रदेशसभा सदस्य सर्वध्वज साँवालगायतले साहित्यले समाजलाई नैतिक बनाउन ठूलो भूमिका खेल्ने बताए।

कमेन्टहरु
Loading...