तनहुँ संवादाता । नक्कली सुनको ढिक्का देखाई सक्कली सुन लुट्ने गिरोहलाई दमौलीको चाइनापुलबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको गंगा जमुना गाउँपालिकाको वडा नम्वर ४ स्थायी घर भई हाल कास्की पोखरा महानागरपालिकाको वडा नम्वर ११ रानीपौवा बस्ने ३९ वर्षीय सम्शेर सुनार र धादिङ स्थायी घर भई हाल पोखरा महानगरपालिकाको वडा नम्वर २६ बुढीबजार बस्ने ४४ वर्षीय प्रेम तामाङ रहेका छन् ।
आइतबार म्याग्दे गाउँपालिका– १ धरादी बस्ने ६४ वर्षीय सेतीमाया राना मगरले लगाएको सुनको गरगहना लुटपाट गर्ने उदेश्यले सुन जस्तो देखिने पहेलो धातुको ढिक्का देखाई लुट्न लाग्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
‘राना मगरलाई सुन जस्तो देखिने पहेलो धातुको ढिक्का देखाइ झुक्यानमा पारी मादी नदीको चाइनापुल नजीक एकान्त ठाउँमा लगि कानमा लगाएको डेढ तोलाको बेरुवा रिङ एक जोर, घाँटीमा लगाएको सात लालको सुनको तीलहरी लुट्न लाग्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो,’ उनले भने ।
दुवै जनालाई पक्राउ गरी थप अनुसन्धानको लागि तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई ठगीसम्वन्धि कसुर मुद्धा शिर्षकमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय दमौली बजार आसपासका क्षेत्रमा दिनदहाडै चोरीका घटना बढ्दै गएको छ ।