नेपालमा गम्भीर प्रकृतिका आपराधिक घटनामा वृद्धि

काठमाडौं । मुलुकमा पछिल्लो ८ महिनामा आत्महत्या, जबरजस्ती करणीलगायत गम्भीर प्रकृतिका घटना केही बढेको पाइएको छ । चालू आर्थिक वर्षमा नेपाल प्रहरीमा दर्ता भएको घटना विवरण हेर्दा समग्र आपराधिक क्रियाकलापमा केही कमी देखिए पनि गम्भीर प्रकृतिका घटनामा बढोत्तरी भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिएका छन् । उनका अनुसार तथ्यांक विष्लेषण गर्दा कर्तव्य ज्यान, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, ज्यान मार्ने उद्योग, आत्महत्यालगायत गम्भीर प्रकृतिका घटना संख्या बढेको छ । कुँवरले समग्रमा दर्ता भएका घटना हेर्दा गत आर्थिक वर्षको ८ महिनाको विवरणभन्दा यसपटक १६ दशमलव १६ प्रतिशतले कमि आएको जानकारी दिएका छन् । सो अवधिमा चोरी, बैंकिङ कसुर, ठगी जस्ता आर्थिक अपराधका घटना कम छ ।

चालू आवको फागुनसम्म मुलुकभरका प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका आपराधिक घटना २६ हजार ३ सय ६ वटा घटना दर्ता भएको छ । तथ्यांक हेर्दा प्रतिदिन झण्डै १ सय १० वटा घटना भएको देखिन्छ । यो गत वर्षको तुलनामा १६ दशमलव १६ प्रतिशतले कमी हो । ८ महिनामा गत वर्षभन्दा २१ दशमलव १३ प्रतिशतले वृद्धि भई कर्तव्य ज्यानसम्बन्धी मुद्दाका ४ सय ४७ घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

सो अवधिमा ४ हजार ४ सय ८३ आत्महत्याका घटना भएका छन् । आव २०७६/७७ को सोही अवधिमा आत्महत्याको ३ हजार ५ सय ३४ घटना दर्ता भएका थिए । तुलनात्मकरूपमा चालू आर्थिक वर्षमा आत्महत्यासम्बन्धी घटना २६ दशमलव ८५ प्रतिशतले वृद्धि भएको र दैनिक औसत १७ जनाले आत्महत्या गरेको पाइएको कुँवरले जानकारी दिएका छन् ।

गत आर्थिक वर्षभन्दा १५ दशमलव ६७ प्रतिशतले वृद्धि भई जबर्जस्ती करणीका १ हजार ६ सय ५३ घटना दर्ता भएको प्रहरीले जनाएको छ । तथ्यांक विष्लेषण गर्दा प्रतिदिन औसत सात वटा जबर्जस्ती करणीका घटना भएको पाइएको छ । प्रहरीले माघ, फागुनमा त्यस्ता घटना बढेको जानकारी दिएको छ । जबर्जस्ती करणीका घटना प्रायजसो नजिककै चिनजानका व्यक्ति संलग्न हुने गरेको पाइएको कुँवरले बताए ।

कुल १ हजार ६ सय ५३ मुद्दाका १ हजार ८ सय ५५ जना प्रतिवादीमध्ये ११ दशमलव २१ प्रतिशत प्रतिवादी हाडनाता सम्बन्धका रहेका छन् । समग्रमा ८१ दशमलव ५६ प्रतिशत प्रतिवादी नजिकका सम्बन्ध र चिनजानका व्यक्ति छन् । आव २०७६/७७ को फागुन मसान्तसम्म जबर्जस्ती करणी उद्योगमा ४ सय ६८ घटना दर्ता भएको र चालू आर्थिक वर्षको सोही अवधिमा ५ सय ९ घटना दर्ता भएको जनाइएको छ ।

पछिल्लो ८ महिनामा चोरीका कुल १ हजार ५ सय ६९ वटा घटना दर्ता भएको छ । गत वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ८२ प्रतिशत कम रहेको छ । यस्तै बैंकिङ कसुरसम्बन्धी अपराधमा यसपाली कम देखिएको छ । गत वर्षको फागुनसम्म बैंकिङ कसुरका २ हजार ८ सय २८ मुद्दा दर्ता भएकामा यो वर्षको सोही अवधिमा १ हजार ६ सय ८८ मुद्दा आएको छ । रासस

कमेन्टहरु
Loading...