गृहकार्य नगरेको भन्दै प्रधानाध्यापकले कुटपिट गर्दा अछाममा विद्यार्थी घाइते

अछाम । अछाममा आफ्नै विद्यालयका प्राधानाध्यापकले नै कुटपिट गर्दा १ जना विद्यार्थी घाइते भएका छन् । कुटपिटको द्धटना चैत्र ३ गतेको भए पनि आज मात्र सार्वजनिक भएको हो । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ११ देबीस्थानमा रहेको हंसबाहिनी माविका प्रधानाध्यापक हंसराज खड्काको कुटपिटबाट सोही विद्यालयमा कक्षा १० मा पढ्ने युवराज खड्का घाइते भएका हुन् ।

प्रधानाध्यापक खड्काले गणितको गृहकार्य नगरेको भन्दै उनीमाथि कुटपिट गरेका हुन् । पीडित युवराजका अनुसार उनले प्रधानाध्यापक खड्काले सुत्र कण्ठ गरेर आउन भनेका थिए । तर गणित विषय आफूलाई गाह्रो लाग्ने र गृहकार्य गर्न नसकेको बताएका थिए ।

आफूले गृहकार्य गणित विषय गाह्रो लागेर नगरेको भन्ने सुन्ने बित्तिकै प्रधानाध्यापक खड्काले कान फुट्ने गरेर आफ्नो गालामा हिर्काएको विद्यार्थी युवराजले आरोप लगाएका छन् । गालामा कान फुट्ने गरेर पिटेपछि समेत प्रधानाध्यापकले थप पिट्न अर्को विद्यार्थीलाई लठ्ठी लिन पठाएपछि आफू कक्षाकोठाबाट नै भागेको पीडित विद्यार्थी युवराजले बताएका छन् ।

पिटाईबाट टाउको र कान अझै पनि दुख्ने समस्या देखिएपछि आफू विद्यालय जान नसकेको उनको भनाई छ ।

यता प्रधानाध्यापक खड्काले पनि विद्यार्थी युवराजलाई गृहकार्य नगरेकाले कुटेको स्वीकार गरेका छन् ।

युवराज उच्छृंखल विद्यार्थी भएको र गृहकार्य पनि नगरेकाले २ झापड हानेको उनले स्वीकार गरेका हुन् । विद्यार्थीसहित अभिभावकले दवाव दिए पछि आफूले राजीनामा दिएको भए पनि स्वीकृत नभएको उनले बताएका छन् ।

कमेन्टहरु
Loading...