महिलालाई जिउँदै खाल्डोमा पुरेर भारत फरार भएका डोजर चालक पक्राउ

काठमाडौं । धादिङमा डोजरले ठक्कर दिएपछि घाइते भएकी महिलालाई उद्धार गर्नुको साटो खाल्डोमा जिउँदै पुरेर सोही दिनबाट फरार भएका डोजरका चालक पक्राउ परेका छन् । जिल्लाको त्रिपुरासुन्दरी १ सल्यानटारस्थित खोल्सी जिपजिपे भन्ने स्थानमा फागुन १७ गते घाँस बोकेर घर फर्किदै गरेको अवस्थामा ४५ वर्षीय सरस्वती कुमाललाई डोजरले ठक्कर दिँदा घाइते भएकी थिइन् । घाइते अवस्थाकी सरस्वतीलाई डोजर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो वरिपरीको माटो ल्याएर जिउँदै पुरिदिएका थिए ।

घटना लगत्रै उनी भारत फरार भएको खुलेको छ । दाङ घर भएका उनी स्थानीयले घटनाका विषयमा थाहा पाएर विरोध जनाए पछि भागेर भारत पुगेका थिए । घटनापश्चात् बुढाथोकी नेपालगञ्ज हुँदै भारत पुगेर लुकिरहेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का निर्देशक सहकुलबहादुर थापाले बताएका छन् ।

निर्देशक थापाका अनुसार घटनालगत्तै उनले गृह जिल्ला दाङ पुगेर आफन्तसंग पैसा लिएर भारतको हरियाणा पुगेका थिए । उनी सरस्वतीको हत्यामा संलग्न भएको हरियाणास्थित आफन्तले थाहा पाएपछि आत्मसमर्पण गर्न उनलाई सुझाव दिएको निर्देशक थापाले बताएका छन् ।

त्यसपछि बुढाथोकी हरियाणा छोडेर भारतकै हरिद्वार पुगेका थिए । घटनापश्चात् भारतको हरियाणा हुँदै हरिद्वार पुगेको प्रहरीले सुचना पाएपछि उनलाई पक्राउ गर्न विषेश टोली खटाएको थियो ।

भारतीय प्रहरीको समन्वयमा बुढाथोकीलाई पक्राउ गरेर नेपाल ल्याइएको निर्देशक थापाले बताएका छन् ।

कमेन्टहरु
Loading...