कुटपिट गरेर छोरासँग मिलेर श्रीमानको हत्या गरेको आशंकामा आमासहित छोरा पक्राउ

बाग्लुङ । बागलुङमा १ जना महिलाले छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या गरिएको आशंका गरिएको छ । जिल्लाको गलकोट नगरपालिका–४ चमुवाकी ३८ वर्षीया कुमारी सार्कीले २० वर्षीय छोरा अनिल सार्कीसँग मिलेर ४० वर्षीय श्रीमान् धनबहादुर सार्कीको हत्या गरिएको आशंका प्रहरीको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार यही चैत १ गते राति घरमा विवाद हुँदा आमाछोरा मिलेर ४० वर्षीय सार्कीलाई निर्घात कुटपिट गरेका थिए । कुटपीटबाट गम्भीर घाइते भएका सार्कीलाई उपचार नगराएर घरमै राखेको अवस्थामा उनको चैत ३ गते ज्यान गएको थियो ।

कुटपीटबाटै सार्कीको निधन भएको आशंका गाउँलेले गरेपछि प्रहरीले घटनास्थलमा पुगेर छानविन सुरु ग¥यो । घटना अनुसन्धानकै क्रममा रहे पनि आमाछोरा मिलेर हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीले आमाछोरालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिएका छन् ।

‘मदिरा सेवनका कारण घरायसी विवाद आएको देखिन्छ, आमाछोराले कुटपिट गरेपछि लडेर चोट लागेको जस्तो बनाउन थालेका रहेछन् ।’ उनले भने, ‘३ गते ज्यान गइसकेपछि छिमेकीले थाहा पाए, शरीरमा चोटपटक रहेछ, अनुसन्धानका क्रममा काठको आउलो प्रहार गरेको पाइएको छ, थप अध्ययन भइरहेको छ ।’

आमाछोरा मिलेर हत्या गरेको भन्दै मृतकका दाजु ६० वर्षीय जुठे सार्कीले जिल्ला प्रहरी कार्यालय बागलुङमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गराएपछि प्रहरीले मृतकका श्रीमती कुमारी सार्की र उनका छोरा अनिल सार्कीलाई पक्राउ गरेको जनाएको छ । रासस

कमेन्टहरु
Loading...