सुर्खेत । बलात्कारको झुटो आरोप लगाउने १ जना महिलालाई ३ वर्ष ६ महिनाको कैद सजाय सुनाइएको छ ।
जिल्ला अदालत सुर्खेतले जिल्ला न्यायधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासमा वीरेन्द्रनगरकी ३७ वर्षीय महिलालाई बलात्कारको झुटो आरोप लगाएको भन्दै ३ वर्ष ६ महिनाको कैद सजायको फैसला गरेको हो ।
ती महिलाले वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई एउटा होटलमा बोलाएर बलात्कार गरेको भन्दै असोजमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरी दिएको भए पनि अदालतमा उनी आफैंले बयान फेरेकी थिइन् ।
उनले अदालतमा बयान फेरेपछि शर्मालाई सफाइ दिइएको छ । सुर्खेतका श्रेष्ठेदार यामप्रसाद बास्कोटाले बलात्कारको झुटो मुद्दा दायर गरेर व्यक्तिको मानहानी गरेको ठहर भए पनि ती महिलालाई सजाय तोकिएको जानकारी दिएका छन् ।