तनहुँमा साउनदेखि हालसम्म ३ सय ४७ फरार अभियुक्त पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतबाट फैसला भई कैद तथा जरिवाना तिर्न बाँकी रही फरार रहँदै आएका विभिन्न मुद्दाका गरी झण्डै १ सय ६३ वर्ष कैद असुली भएको जनाएको छ ।

साउनदेखि हालसम्म प्रहरीद्वारा पक्राउ परेका ३ सय ४७ जना फरार प्रतिवादीलाई पक्राउ गरी कूल १ सय ६२ वर्ष ११ महिना २८ दिन कैद असुली गरेको हो । प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा २ सय ५७ पुरुष र ९० महिला रहेका छन् ।

पक्राउ परेकामध्येबाट जरिवाना तिर्न बाँकी रहेको ५६ लाख १७ हजार १ सय १५ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिएका छन् ।

अवैधानिकरुपमा नदीजन्य उत्खनन गर्ने ९४ वटा सवारी साधनलाई पक्राउ गरी सम्बन्धित पालिकामा पठाउँदा ११ लाख ३७ हजार जरिवाना तिरेका छन् । जबर्जस्ती करणी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगलगायतका २ सय ४० मुद्दा दर्ता भएका छन् । उनले भने, ‘लागुऔषधसम्बन्धी २१ मुद्दा दर्ता भएकोमा ३८ पुरुष ३ जना महिला गरी ४१ पक्राउ परेका छन् ।’

जिल्लाको विभिन्न क्षेत्रबाट गरी ४४.४५ ग्राम गाँजा र डाइजोपाम, फेनरागन र नुफिन गरी कूल १ हजार ९ सय ९० एम्पुल बरामद गरिएको उनले बताएका छन् । चाडपर्व र अन्य समयमा जुवातास खेलिरहेको अवस्थामा १ सय १० जुवाडे पक्राउ गर्दा जुवा खालबाट १२ लाख ५८ हजार १ सय ९० बरामद गरेको छ । मोबाइल चोरीपश्चात् खोजतसालको लागि प्रहरीमा निवेदन दिएकामध्ये ४१ जना सम्बन्धित व्यक्तिलाई मोबाइल फेला पारी हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जघन्य अपराध घटनाका ९५ प्रतिशत कानूनी कठघरामा ल्याइएको तनहुँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताएका छन् । घटनापश्चात् केही अपराधी छिमेकी राष्ट्रमा लुकीछिपी बसेका कारणले नेपाल ल्याउन समस्या भएको उनले जानकारी दिएका छन् ।

दुर्घटना न्यूनीकरण, फरार प्रतिवादी पक्राउ, लागुऔषध ओसारपसारमा न्यूनीकरण, राजस्व चुहावट गरी चोरी गर्ने कार्यलाई निरुत्साहित गर्ने योजनासहित कामको थालनी गरिएको उनले बताएका छन् । त्यसैगरी २७ रोपनी क्षेत्रफलमा लगाइएको ३ हजार ७ सय गाँजाका बोट फँडानी गरी नष्ट गरिएको छ । अवैधानिकरुपमा चोरी निकासी भएका ६ सय ५ क्युफिट काठ बरामद भएको थियो । रासस

कमेन्टहरु
Loading...