साहित्यकार जीवनसागर भण्डारीको मुक्तकसङ्ग्रह ‘असुरक्षित गुलाब’ लोकार्पण भएको छ ।
पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति सरुभक्तले उक्त कृतिको लोकार्पण गर्दै जीवन र साहित्य पाटो सँगसँगै भएकाले अब छुट्टाछुट्टै लिन नसकिने बताए ।
मुक्तकसङ्ग्रह समसामयिकतासँगै समाजका विविध आयामलाई चोटिलोरुपमा उतार्न सफल भएको उल्लेख गर्दै उनले यसले उत्कृष्ट कृतिका रुपमा परिचय बनाउने विश्वास व्यक्त गरे ।
परिवारका पूर्वअध्यक्ष ईश्वरमणि अधिकारीले भण्डारीका साहित्यिकलगायत उनको व्यक्तित्वको चर्चा गर्दै मुक्तकसङ्ग्रह समाजको यथार्थलाई बिम्वात्मक र व्यग्याङ्त्मकरुपमा प्रस्तुत गर्न सफल भएको बताए ।
समालोचक सञ्जीव तिवारीले नेपाली साहित्यमा भण्डारीका मुक्तक उल्लेखनीय हुने बताउँदै मुक्तकमार्फत भण्डारीले राजनीतिक र सामाजिक विकृतिमा व्यङ्ग्य प्रहार गरेको उल्लेख गरे । मुक्तकमा नेपाल र नेपालीको भविष्यका विषयमा गम्भीर चिन्ता व्यक्त गरिएको उनको भनाइ छ ।
कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ, गजलगो प्रकट पगेनी ‘शिव’ र दीपक समिप, पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यलगायतले साहित्यकार भण्डारीको साहित्यिक जीवनको सफलताको शुभकामनासहित साहित्यप्रतिको आफ्नो धारणा राख्नुभयो ।
परिवारका अध्यक्ष मोती भुजेलले भण्डारीमा राजनीतिक र सामाजिक यथार्थलाई सरल र स्पष्टरुपमा चोटिलो प्रहार गर्नसक्ने क्षमता रहेको उल्लेख गर्दै साहित्यले समाजको तत्कालीन परिवेशलाई उतार्न भएकाले समाजका परिवेश बुझ्न सहज हुने विश्वास व्यक्त गरे ।
परिवारले प्रकाशन गरेको २७ औँ कृति ‘असुरक्षित गुलाब’मा १२० पृष्ठ र १०७ मुक्तक समावेश रहेको परिवारका सचिव डा चैतन्य अधिकारीले जानकारी दिए ।