चितवन । जिल्लाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म ९ करोड २५ लाख उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको छैन । रंगशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा उधारोमा काम गर्नुपरेको हो । रंगशाला निर्माण गरिरहेको धुर्मस–सुन्तली फाउण्डेसनका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हालसम्म ४१ करोड ८८ लाख ४ हजार ९ सय ३६ खर्च भइसकेको छ । सोमध्ये सोमबारसम्म प्राप्त बिलअनुसार रु नौ करोड २५ लाख भुक्तान गर्न बाँकी छ । हरेक महिनाको अन्त्यमा निर्माण सामग्री र रेडिमिक्सको बिल आउने भएकाले माघ मसान्तसम्म उधारो थपिने उनको भनाई छ । उनका अनुसार माघ मसान्तसम्म १० करोडभन्दा बढी उधारो हुनेछ ।
हालसम्म रंगशाला निर्माणका लागि ३१ करोड ८३ लाख ८३ हजार आम्दानी भएको छ । सबैभन्दा बढी भरतपुर महानगरपालिकाले ८ करोड, बाग्मती प्रदेश सरकारले ३ करोड सहयोग गरेका छन् । महायज्ञमा बोलकबोल ६९ करोड ४५ लाख ५६ हजार भएकामा जम्मा ९ करोड ११ लाख ६५ हजारमात्रै प्राप्त भएको तिमिल्सिनाले जानकारी दिएका छन् । महायज्ञमा १ करोडभन्दा बढी ८ वटा संस्थाले कबोल गरेका थिए । बाग्मती प्रदेश सरकारले ३० करोड, भरतपुर महानगरपालिकाले १६ करोड ७५ लाख, जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख, बामदेव गौलीले १ करोड १२ लाख बराबरको जग्गा, नेपाल एलपी ग्यास उद्योगले १ करोड, गैंडाकोट नगरपालिकाले १ करोड बराबरको काठ, नेपाल पोल्ट्री महासंघले १ करोड र ग्लोबल आइएमई बैंकले १ करोड बोलकबोल गरेका थिए । ग्लोबल आईएमई बैंकले पूरै र पोल्ट्री महासंघले ३० लाखबाहेक अन्यले कबोलको रकम भुक्तान नगरेको तिमिल्सिनाले जानकारी दिएका छन् ।
महायज्ञ आयोजक समितिका महासचिव दिनेशकुमार चुके कोभिड–१९ का कारण रकम उठ्न ढिर्ला भएको भए पनि दाताहरुको नदिने नियत नभएकाले रकम क्रमशः उठ्दै जाने बताउँछन् । रकम उठाउनका लागि समितिका तर्फबाट टीकाराम लामिछानेलाई जिम्मेवारी दिइएको र सम्पूर्ण हिसाबकिताब फाउण्डेशनलाई बुझाइएको उनले जानकारी दिएका छन् । वाग्मती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले आव २०७७÷७८ को विनियोजित रकमबाट सहयोग गरे पनि महायज्ञमा कबोल गरेको रकम भुक्तानी गरी नसकेको तिमिल्सिनाले जानकारी दिएका छन् । जिल्लाका अन्य केही पालिकाले कबोलको रकम पठाएको भए पनि केहीको बाँकी छ । महायज्ञमा सहयोग रकम बोल्ने सांसददेखि व्यापारीसम्मले रकम भुक्तानी गरेका छैनन् ।
फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले बजेट अभाव हुँदा सोचे जसरी कामलाई अघि बढाउन नसकेको बताए । उनले भने, ‘रकमको जोहो हुने निश्चित स्रोत छैन, बजारबाट ल्याएको सामानको पैसा तिर्न फिटिफिटी परेका छौं ।’ उधारो नतिर्दासम्म आपूर्तिकर्ताले थप सामान नदिने अवस्था रहेको उनको भनाई छ । कोभिडका कारण दाताहरुबाट अपेक्षाकृत सहयोग प्राप्त हुन नसकेको उनको गुनासो छ ।
निर्माण सामग्री खरिद गर्ने एउटै फार्मसँग ठूलो रकम हुँदा आफूहरुलाई पनि थप सामान ल्याउन समस्या हुने गरेको कट्टेलले बताएका छन् ।
महायज्ञको रकम सबै उठेमा पनि तत्काललाई समस्या समाधान हुने उनको भनाई छ । उधारोमै सामान ल्याएर भए पनि काम नरोकेको कट्टेल बताउँछन् । रकम अभावकै कारण रंगशाला निर्माणमा खटिने कामदारको संखया समेत घटाइएको छ । पहिले ३ सय १३ जनासम्म कामदारले काम गर्दै आएकामा पछिल्लो समय घटाएर १ सय ३५ जना मात्रैले काम गरिरहेका छन् । रकम अभाव भए पनि चाडपर्वदेखि कोभिडको समयमा समेत कामलाई भने निरन्तरता दिइएको छ । रंगशाला निर्माण सम्पन्न गर्न करिब ३ अर्ब लाग्ने अनुमान गरिएको छ ।
हाल रंगशालाको मैदान र प्यारापिटको काम भइरहेको छ । गत साउन १ गतेदेखि संरचनाको काम सुरु गरिएको रंगशाला १ वर्ष ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उनले भने, ‘महायज्ञको बोलकबोल र घोषित रकम प्राप्त भएमा लक्ष्यअनुसार काम हुने थियो ।’ महायज्ञबाहेक रंगशाला निर्माणका क्रममा विभिन्न व्यक्ति र संस्थाले सहयोग घोषणा गरेको रकम ४ करोड हाराहारी उठ्न बाँकी छ ।
त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गा रंगशाला निर्माणका लागि उपलब्ध गराइएको हो । भरतपुर महानगरपालिका–१५ मा रंगशाला निर्माण भइरहेको छ । जग्गा दिलाउन र यहाँ रंगशाला निर्माणका लागि महानगरपालिकाले अगुवाई गरेको थियो । महानगरपालिकाकै आग्रहमा फाउण्डेशनले रंगशाला निर्माण थालेको हो । रासस