नक्कली नोट बनाउने सामानसहित २ जना पक्राउ

कञ्चनपुर । बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाडौ महानगरपालिका वडा नम्बर १४ बौद्धका ३३ वर्षीय विष्णु भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताएका छन् ।

‘पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धानको कार्य भइरहेको छ ।’ उनले भने । उनका अनुसार पक्राउ परेकाबाट नक्कली १ हजारको १ थान र ५ सयका २ थान नोट बरामद गरिएको छ । यसैगरी विभिन्न नोटको साइजमा काटिएका पेपर ३ सय ८० थान, काठको केमिकल राखेको भाँडो १ थान र स्टिलका थाल २ थान बरामद गरिएको छ । रासस

कमेन्टहरु
Loading...