काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशालाले हत्या गरेर सुटुक्क अन्तिम संस्कार गर्न लागेको आशंकामा १ जना महिलाको शव बरामद गरेको छ । हत्यापछि सुटुक्क अन्त्येष्टी गर्न लागिएको आशंकामा प्रहरीले पशुपति मन्दिर परिसरको राम मन्दिर नजिकबाट बाराको श्रीपुर घर भएकी बबिता चौधरीको शव बरामद हो । प्रहरीका अनुसार उक्त महिलाको शव पोस्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
प्रहरीले अनुसन्धानका लागि भन्दै मृतक महिलाका ३८ वर्षीय श्रीमान् रवि तथा चल्ली भनेर चिनिने अनु थापालाई पक्राउ गरेको छ । केही दिन अगाडि मृतक महिलाले अनुको मोबाइल चोरेको र सोही विषयलाई लिएर उनीमाथि २/३ जना महिलाले मिलेर कुटपिट गरेको भन्ने सुनेको महानगरीय प्रहरी वृत्त गौशाला डिएसपी जितेन्द्र बस्नेतले बताएका छन् । डिएसपी बस्नेतका अनुसार कुटपिटपश्चात् मृतक महिलाको आँखा तथा टाउकोमा चोट लागेको थियो । चोट लागेर घाइते भएकी उनी हिंड्न सक्ने अवस्था नभएपछि त्यहीं लडेकी थिइन् ।
घाइते अवस्थामा लडिरहेको देखेर समेत उनलाई श्रीमान् रवि तथा अनुले मन्दिरको आश्रममा नै सुताइदिएको खुलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले सोही समयमा नै बबिताको ज्यान गइसकेको हुन सक्ने आशंका गरेको छ ।
घाइते तथा अफ्ठ्यारो अवस्थामा देखेपछि अस्पताल लिएर जानुपर्नेमा उनीहरुले शव व्यवस्थापन गर्नेतर्फ लागेको पाइएको प्रहरीले जानकारी दिएको छ । रवि पेसाले मिस्त्री हुन् । रवि सहित अनुले समेत बबिताको शवलाई खाल्डोमा पुर्ने प्रयास गरेको तर अफ्ठ्यारो भए पछि आगो लगाएको प्रहरीको आशंका रहेको छ ।
मृतक बबिताको श्रीमान् रविसंगको सम्बन्ध त्यति राम्रो थिएन । उनीहरु मन्दिरकै आश्रममा बस्दै आएका थिए । प्रहरीले शव बरामद गदाइ अधिकांश भाग जलिसकेको अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।