लकडाउनपछि पहिलो पटक घान्द्रुक पुगे पर्यटक

दिपक के श्रेष्ठ

गत चैतमा सरकारले लकडाउन जारी गरेपछि एकैपटक सुस्ताएको पर्यटन क्षेत्र बिस्तारै खुल्दैछ ।

यही मेसोमा पोखराबाट ३२ किलोमिटर उत्तर–पश्चिममा पर्ने घान्द्रुकमा पर्यटक पुगेका छन् । माघ १ गतेदेखि पर्यटकलाई खुल्ला गरिएको घान्द्रुकमा शुक्रबार चरक मेमोरियल हस्पिटलका डाक्टर बद्री र क्लारा पौडेलको समूह पुगेको छ ।

उनीहरुको समूह पर्यटन व्यवस्थापन समिति घान्द्रुकको अध्यक्ष किसम गुरुङको घान्द्रुक कटेजमा बसेको छ । कोरोना कहरकाकारण घान्द्रुकवासीले दशैंमा आफन्तलाई समेत गाउँ आउन रोकेका थिए । संक्रमणबाट गाउँलेलाई बचाउन चालिएको उक्त कदमपछि हाल पर्यटकलाई पिसिआरबिनै घान्द्रुकले स्वागत गर्ने भएको छ ।

घान्द्रुक रहँदा पर्यटकलाई कोरोनासम्बन्धी केही लक्षण देखिए गाउँमै आइशोलेसनको व्यवस्था गरिनुकासाथै उपचारार्थ तत्काल पोखरा पठाउने व्यवस्था गरिएको अध्यक्ष गुरुङले बताए ।

‘हामीले सुरक्षाको उपाय अवलम्बन गरेका छौं’ समितिका अध्यक्ष गुरुङले भने ‘घान्द्रुकमा पर्यटकहरुलाई स्वागत छ ।’ घान्द्रुकमा साना, ठूला गरी करिब ५ दर्जन होटल रहेका छन् ।

अन्नपूर्ण आधार शिविर क्षेत्रको पदमार्गमा पर्ने आकर्षक गन्तव्य घान्द्रुक प्रायःको रोजाइमा पर्छ । त्यस्तै, पुनहिल जाने पदयात्रीले पनि यही मार्ग प्रयोग गर्छन् । तर, यहाँबाट माथि छोम्रोङ जान भने पिसिआर अनिवार्य गरिएको छ ।

 

कमेन्टहरु
Loading...