झारफुकको बहानामा फलामे रड लगायतले डाम्दा ज्यान गएको घटनामा गुल्मीबाट १ जना पक्राउ

पोखरा । झारफुक गर्ने बहानामा तातो फलामले डाम्दा बिरामीको ज्यान गएको घटनामा गल्मीमा २ जना पक्राउ परेका छन् । प्रहरीले उक्त घटनामा संलग्न भएको भन्दै जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर १ ओख्रेनी तिनधारा बस्ने मालिका गाउँपालिका वडा नम्बर ६ अर्जे घर भएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ तथा उनकी श्रीमती ३६ वर्षीय शान्तिला श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठले ढाड दुख्ने बिरामीलाई उपचार गर्ने बहानामा फलामको रड, प्लास्टिकको पाइप तथा स्टिलको झाँजर तताएर विभिन्न भागमा डाम्दा उनको ज्यान गएको थियो । रामप्रसादले बुधबार दिउँसो आफ्नो घरमा केही अपरिचित व्यक्तिहरुले हल्ला मच्चाइरहेको भन्दै जिल्ला प्रहरी कार्यालय निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अनुसन्धानका लागि खटिएको प्रहरीको टोलीले ईश्मा गाउँपालिका वडा नम्बर ३ दर्लामचौर बस्ने ६४ वर्षीय रामबहादुर कुमालको निधन भएको अवस्थामा फेला पारेको थियो । त्यस्तै कुमालका छोरा ३४ वर्षीय हुमबहादुर कुमाल (मुखिया) लाई प्रहरीले घाइते अवस्थामा भेटेका थिए ।

प्रहरीले दिएको जानकारी अनुसार गत आइतबार श्रेष्ठको घरमा पुगेका रामबहादुर कुमाललाई उपचारको बहानामा खाना खान समेत नदिएर आगोमा तताएको फलामे वस्तुले डामेपछि निको हुने र आफैं एकछिनमा उठ्ने भनेका थिए । तर डाम्दै केही छिनमा उठ्छन् भन्दाभन्दै कुमालको निधन भएको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच श्रेष्ठले उपचारको बहानामा झारफुक गरेर १ जना महिलालाई समेत डामेर घाइते बनाएको खुलेको छ । सोही जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ५ बस्ने ४० वर्षीय टोपला दमाईलाई पनि श्रेष्ठले उपचार गर्ने भन्दै कुमाललाई अपनाएको जस्तै विधि अपनाएका थिए । टोपलाको हाल अस्पतालमा उपचार भइरहेको छ । श्रेष्ठले कुमालको निधनलाई समेत झै–झगडाबाट ज्यान गएको भन्दै प्रहरीलाई झुठो निवेदन दिएका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...