दलितसंग प्रेम रहेको थाहा पाएपछि पर्सामा आमाबाबा मिलेर आफ्नै छोरीको हत्या

पर्सा । दलित समुदायको केटासंग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि पर्सामा आमाबाबाले आफ्नै छोरीको हत्या गरेका छन् । जिल्लाको बहुदरमाई नगरपालिकाकी १५ वर्षीय किशोरी मानाकुमारी साहको आफ्नै आमाबाबाले मिलेर हत्या गरेका हुन् । सुरुमा किशोरीको आफ्नै घरमा नै आगोमा जलेर ज्यान गएको भनिए पनि अनुसन्धानका क्रममा आफ्नै आमाबाबाले हत्या गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

नगरपालिकाको वडा नम्बर ८ रामनगरी टोल घर भएकी किशोरीको घरमा आगलागी भएको र उनको ज्यान गएको बताइएको थियो । लक्ष्मी पुजाका दिन गत कार्तिक २९ गते राति करिब १० बजेको समयमा आगलागी भएर ज्यान गुमाएको भनिएकोमा मानाको हत्या भएको खुलासा भएको हो । आगलागीका क्रममा मानाबाहेक परिवारका अन्य सदस्यलाई कुनै चोटपटक लागेको थिएन ।

तर घरभित्र रहेका लत्ताकपडा तथा खानेकुराहरु जलेर नस्ट भएको थियो । मानाको घरमा भएको आगलागी स्थानीय तथा दमकलको सहायतामा नियन्त्रणमा आएको थियो । छोरीको आगलागीबाट ज्यान गएको भएपनि मानाको परिवारले उनको निधनका विषयमा प्रहरीलाई जानकारी गराएको थिएन । तर घटनास्थलमा प्रहरी पुग्दा मानाको शव भेटिएको थियो ।

प्रहरीले घटनास्थल तथा युवतीको शव हेर्दा शंका लागेपछि अनुसन्धान गर्दा मानाको हत्या भएको खुलेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थपाले जानकारी दिएका छन् ।

सोही गाउँको कक्षा ९ मा अध्ययनरत माना आफ्नै स्कुलका शिक्षक रामबाबु चमारसंग प्रेम सम्बन्धमा रहेकी र रामबाबुले मानालाई कपडा किनेर दिने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ । रामबाबु र मानाको समबन्धका विषयमा मानाको परिवारले थाहा पाए पछि आमाबाबाले नै मिलेर हत्या गरेको प्रहरीको भनाई छ । उनीहरुले मानाको योजना बनाएर नै हत्या गरेका थिए । योजना अनुसार मानाको मृत्युलाई परिवारले आगलागीमा परेर निधन भएको देखाउने कोसिस गरेका थिए ।

हत्याको आरोपमा मानाकी आमा लालमती देवी पक्राउ परेकी छिन् । आरोपी अर्थातु मानाका बाबा मनबोध फरार छन् । उनको खोजी भइरहेको र दुवै जनाविरुद्ध कर्तव्य ज्यान अन्तरगत मुद्धा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ । लालमती पुर्पक्षका लागि कारागार चलान भएकी छिन् । प्रहरीका अनुसार लालमतीले माना सुतेपछि घरमा मट्टितेल छर्किएर घरको ढोका बाहिरबाट लगाई हत्या गरेको साबिती बयान दिएकी छिन् । अनुसन्धानबाट दलित शिक्षक रामबाबुसंगको सम्बन्धका कारण मानाको हत्या भएको खुलेको छ ।

मानाको हत्या भएपछि शिक्षक रामबाबु समेत फरार भएका थिए । पछि आफैं रामबाबु प्रहरीको सम्पर्कमा आएर हत्यामा आफ्नै कुनै संलग्नता नभएको बयान दिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...