तनहुँमा फरार ९ जना प्रतिवादी पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भइ दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी रहेकाहरुको खोजी कार्य अभियान अन्तर्गत प्रहरीले ती प्रतिवादीलाई शुक्रबार पक्राउ गरेको हो ।

लागुऔषध गाँजा मुद्दामा विगत २ वर्षदेखि फरार व्यास नगरपालिका–१२ कमलाबारी बस्ने ३९ वर्षीया तारा थापा मगरलाई पक्राउ गरिएको छ । निजविरुद्ध जिल्ला अदालतले विसं २०७५ भदौ २६ गते १ वर्ष कैद र ५ हजार जरीवाना सुनाएको थियो ।

प्रहरीका अनुसार चोरी मुद्दामा १, सवारी ज्यान मुद्दामा १, कुटपिटमा ३, जालसाजीमा १, सार्वजनिक अपराधमा १, गाली बेइज्जतीमा १ प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन् । पक्राउ परेकाहरुबाट १ वर्ष कैद र १ लाख ७५ हजार २ सय ९० जरीवाना असुल गर्न बाँकी छ । उनीहरुलाई शुक्रबार अदालत समक्ष उपस्थित गराइएको छ । रासस

कमेन्टहरु
Loading...