खोटाङ । आफैंले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो ।
करिब ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन् । विवाह गरेको ३ दिनपछि सोमबार दाजु सञ्जीवले बहिनी सकुन्तलाको घरैबाट उनलाई जंगलमा लगेर हत्या गरेको खुल्न आएको हो ।
हत्या हुनुभन्दा अघिल्लो राति दाजु सञ्जीवको फोनबाट पटकपटक धम्की आइरहेको र बिहान आफैं हाम्रो घरमा आएर सकुन्तलालाई लगेर हत्या गरेको उनका श्रीमान् दिनेशले बताएका छन् । ‘हाम्रो घरायसी व्यवहार छ भन्दै दाजु सञ्जीवले सकुन्तलालाई साथैमा लगेर जानुुभयो ।’ उनले भने, ‘घरबाट हिँडेको केही समयपछि नै सकुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुखोला नजिकैको जंगलमा हत्या भएको अवस्थामा फेला प¥यो ।’
भिनाजुको घरबाट हिँडेको करीब १ घण्टामै दिदीको हत्या भएको हुनसक्ने सकुन्तलाका भाइ समीर राईले बताएका छन् । ‘दाजु सञ्जीवले दिदीलाई जंगलमा लगेर कुट्दै गरेको भेडा गोठालाले देखेका रहेछन् ।’ उनले भने, ‘आफूूले रोजेको केटासँग विवाह नगरी अर्कै केटासँग विवाह गरेको झोंकमा हत्या गरिएको छ । हत्यामा संलग्न दाजु सञ्जीवलाई कडाभन्दा कडा कारवाही गरियोस् ।’
विद्यालय तहको अध्ययन गर्दादेखि नै प्रेम सम्बन्धमा रहेका दिनेश वैदेशिक रोजगारीको सिलसिलामा ३ वर्ष मलेसिया बसेर हालै घर आएका थिए । भाइ समीरका अनुसार सकुन्तला प्रेमी दिनेश वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया रहेको समयमा काठमाडौंमा सिलाई/कटाई पेसा गर्दै आएकी थिइन् ।
केही समय अगाडि मात्रै माइतीघर सेखुवा आएकी सकुन्तलाले आफूूसँग पनि दाजु सञ्जीवले ‘मैले रोजेको केटासँग विवाह गर्नुपर्छ’ भन्दै दबाब दिने गरेको जानकारी दिएको भाइ समिरले बताए । सकुन्तलासँग ३ दिन अघिमात्र विवाह गरेका दिनेशले पनि श्रीमतीको हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग गरेका छन् ।
घटनामा संलग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताएका छन् । ‘घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।’ उनले भने, ‘हत्यारा नियन्त्रणमा रहेकाले केही समयपछि सत्यतथ्य सार्वजनिक गरिनेछ ।’
दाजुको कुटाइबाट ज्यान गुमाएकी सकुन्तलाको शरीरको विभिन्न भागमा चोट तथा नीलडाम देखिएको आफन्तले बताएका छन् । उत्तिसको लाथ्रो (लौरो)ले हानेर हत्या गरिएकी सकुन्तलाको शव मंगलबार जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेपछि माइतीपक्षले जिम्मा लिएर दाहसंस्कार गरेको छ । रासस