एजेन्सी । भारतमा कोरोना भाइरसबाट सक्रिय संक्रमित अवस्थामा रहेकाको संख्या पछिल्लो ३ महिनाकै सबैभन्दा कम भएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार गत १०६ दिन यताको सबैभन्दा कम भएको हो । यो बीचमा ५ लाखभन्दा धैरै मानिस सक्रिय संक्रमित अवस्थामा रहने गरेकोमा अहिले ५ लाखभन्दा कम भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या ४ लाख ९४ हजार ६ सय ५७ रहेको छ । ‘संक्रमित अवस्थामै रहेकाहरुको संख्या अहिले घट्दै जानु सुखद कुरा हो, भारतमा दैनिक संक्रमितहरुको संख्यामा पनि कमी आएको छ ।’ स्वास्थ्य मन्त्रालयले भनेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको संख्या ४४ हजार २ सय ८१ रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ८६ लाख ३६ हजार १२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकै कारणले कम्तीमा ५ सय १२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको संख्या १ लाख २७ हजार ५ सय ७१ पुगेको छ । रासस