काठमाडौं । गत मंगलबार भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिकका तर्फबाट जो बाइडेन निर्वाचित हुँदै बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बनेका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका हुन् ।
बीबीसीको अनुमान अनुसार महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा वाइडनले जित हात पारेका छन् । जसले बाइडनलाई ह्वाइट हाउसमा पुग्न चाहिने २७० इलेक्टोरल ल कलेज भोटको आंकडा पार भएको छ ।
बीबीसी, न्यूयोर्क टाइम्स, फक्स न्यूज लगायतले गरेको यो अनुमान ती राज्यहरुको परिणाममा आधारित छ, जहाँ भोट गणना सकिसकेको छ र केहीमा अन्तिम चरणमा छ । यद्यपी मतगणना जारी रहेको भए पनि मत अन्तरका कारण बाइडेनलाई अमेरिकी सञ्चारमाध्यमले विजयी घोषणा गरेका हुन् । मतगणना भइरहेको पेन्सल्भेनिया राज्यको २० इलेक्टोरल मत बाइडेनको पक्षमा परेसँगै २ सय ७३ इलेक्टोरल भोट पुगेर उनी विजयी भएको सीएनएनले जनाएको छ ।
११ सिट भएको एरिजोना र ६ सिट भएको नेभाडामा बाइडेन सहज अग्रतामा छन्। १६ सिट भएको जर्जियामा भने उनी झिनो मतका साथ अग्रस्थानमा छन्। अमेरिकामा राष्ट्रपतीय निर्वाचनबाट ५३८ इलेक्टोरल कलेज प्रतिनिधिहरु छानिन्छन् । अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल भोट आवश्यक पर्छ ।
निर्वाचनको सुरुआती नतिजामा भने बाइडन केही महत्वपूर्ण निर्णायक राज्यमा पछाडि देखिएका थिए । पेन्सिल्भेनिया, विस्कोन्सिन, मिशिगन र जर्जियाको नतिजा उल्ट्याउँदै राष्ट्रपतिमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । यद्यपि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले केही राज्यमा पुनः मतगणनाको माग गर्न माग गर्दै अदालती प्रक्रिया सुरु गरेका छन् । यसले अमेरिकी राष्ट्रपतिको विवाद भने अझै केही समय चल्न सक्ने देखिएको छ ।