ट्रम्पको चेतावनी – बाइडनले आफू राष्ट्रपति भएको घोषणा नगरुन्

 

काठमाडौं । राष्ट्रपति पदको निर्वाचनमा बाइडन जित नजिक पुगेका समाचार आइरहेका बेला ट्रम्पले जो बाइडनलाई राष्ट्रपति निर्वाचित भएको घोषणा नगर्न चेतावनी दिएका छन् । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडनलाई राष्ट्रपति निर्वाचित भएको घोषणा नगर्न चेतावनी दिएका हन् ।

 

ट्विट गर्दै ट्रम्पले सो चेतावनी दिएका हुन् । उनले ट्विटरमा लेखेका छन्,‘बाइडनले राष्ट्रपति पदको दाबी नगरुन् । यस्तो दाबी त म पनि गर्न सक्छु । कानुनी प्रक्रिया भर्खरै शुरु भएको छ ।’ ‘चुनाव भएको राति सबै राज्यहरुमा मेरो अग्रता थियो तर दिन बित्नासाथ चामत्कारिक ढंगले गायब भएको देखियो । हाम्रो कानुनी कारबाही अगाडि बढेपछि सायद त्यो अग्रता फर्किने छ ।’

 

 

मत गणनामा धाँधली भएको भन्दै ट्रम्प र उनका समर्थकहरु अदालत गएका छन् । तर ट्रम्पले धाँधली भएको प्रमाण पेश गर्न नसकेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन् । महत्वपूर्ण मानिएको पेन्सलभेनियामा बाइडनले ट्रम्पलाई पछि पारेका छन् । बाइडन १३ हजार मत अन्तरले ट्रम्पभन्दा अगाडि रहेको बीबीसीले लेखेको छ ।

 

 

बीबीसीका अनुसार एरिजोना, नेभाडा र जर्जियामा पनि बाइडनको अग्रता छ । जर्जियामा अमेरिकी सैनिकको भोटबाट ट्रम्प अगाडि आउन सक्ने अनुमान पनि लगाइएको छ । जर्जियामा बाइडन ४ हजार २ सय भन्दा बढी मतले अगाडि छन् । अटलान्टा नजिकको ग्विनेट काउन्टीको ७ हजार भोट गणना भइसक्दाको परिणाम हो । अझै ८ हजार ८ सय ९० मिलिटरी पोष्टल भोट गन्न बाँकी छ ।

 

 

जानकारहरुका अनुसार अमेरिकी चुनावमा धेरैजसो सैनिकहरुले रिपब्लिकनलाई भोट हाल्ने गरेका छन् । यद्यपि ट्रम्प धेरै पटक सैन्य अधिकारीहरुसँग विवादमा परेकाले केही सैनिकले भोट नदिन पनि सक्ने समाचारमा उल्लेख छ । अमेरिकाका ५० मध्ये ४४ राज्यको मतगणनाको परिणाम आइसकेको छ । राष्ट्रपति निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत आवश्यक पर्नेमा बाइडनले २ सय ५३ र ट्रम्पले २ सय १४ मत पाएका छन् ।

कमेन्टहरु
Loading...