एजेन्सी । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या घट्दै गइरहेको छ । कोरोना भाइरसको महामारी सुरु भएदेखि बृद्धि हुँदै गइरहेको दैनिक संख्यामा केही समयदेखि कमी हुँदै आइरहेको हो । दैनिक झण्डै १ लाखसम्म संक्रमितहरु भेटिएको भारतमा अहिले दैनिक ५० हजारको हाराहारीमा झरेको तथ्यांकमा देखिएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ५४ हजार ४४ जना संक्रमित भएका छन् । सोही अवधिमा कोरोनाका कारण ७ सय १७ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या ७६ लाख ५१ हजार १ सय ८ पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमित मध्ये सात लाख ४० हजार ९० जना अझै पनि संक्रमित अवस्थामै रहेको पनि तथ्यांकमा देखिएको छ ।
भारतमा संक्रमित अवस्थामै रहेकाको संख्यामा पछिल्ला केही हप्तादेखि कमी आएको छ । लामो समयसम्म दैनिक झण्डै १० लाख मानिस संक्रमित अवस्थामै रहने गरेकोमा अहिले ७ लाखको हाराहारीमा झरेको हो । संक्रमित भएर पनि निको भइसकेकाहरुको कुल संख्या ६७ लाख ९५ हजार १ सय ५ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी भारतमा कोरोनाका कारण कुल मृतकको संख्या एक लाख १५ हजार ९ सय १४ रहेको अधिकारीहरुले जानकारी दिएका छन् । भारतका प्रदेशहरु मध्ये कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिले पनि १ लाख ७४ हजार ७ सय ५५ जना संक्रमित अवस्थामै रहेका छन् । रासस