काठमाडौं । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले यस वर्षको नोबेल शान्ति पुरस्कार जितेको छ। विश्व खाद्य कार्यक्रम डब्लुएफपीले भोकमरी नियन्त्रणको प्रयास गरी शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा यो वर्षको नोबेल शान्ति पुरस्कार डब्लुएफपीलाई प्रदान गर्ने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ ।
नोबेल शान्ति पुरस्कार पाउने डब्लुएफपी १०१ औँ संस्था बनेको छ । यसअघि १०० पटक संस्था वा व्यक्तिले सो पुरस्कार पाएका छन् । पुरस्कार स्वरुप डब्लुएफपीले ८ लाख ७५ हजार पाउण्ड प्राप्त गर्ने छ ।
पुरस्कार पाएको डब्लुएफपीले सम्मानबाट आफूहरु अति आभारी भएको बताएको छ । यो वर्ष नोबेल शान्ति पुरस्कारका लागि १०७ संस्था र २११ जना व्यक्ति मनोनित भएका छन् ।
डब्लुएफपीका प्रमुख डेविड बिजलेले पुरस्कार आफूहरुले पाएको घोषणा हुँदा आश्चर्यमा परेको बताएका छन्। जर्मन चान्सलर एङ्गेला मर्केलसहितले डब्लुएफपीलाई बधाई दिएका छन्।
यो वर्ष मनोनयनमा विश्व स्वास्थ्य संगठन डब्लुएचओ र जलवायु अभियन्ता गे्रता तुन्बेर पनि थिए । उनीहरुलाई पुरस्कारको होडमा अघि ठानिएको थियो । नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परी अन्तिम सूचिमा परेकाहरुको नाम नियम अनुसार ५० वर्षसम्म सार्वजनिक गरिँदैन ।
खाद्य सुरक्षा शान्तिको प्रमुख आधार रहेको र डब्लुएफपीले त्यसका लागि महत्वपूर्ण काम गरेको नोबेल शान्ति पुरस्कार समितिले जनाएको छ ।