एजेन्सी । विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ३ लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या ९ लाख ५० हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित २ करोड २० लाख ४६ हजार ४ सय ८८ व्यक्ति कोरोना मुक्त भएका छन् ।
कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै संक्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६८ लाख ७४ हजार ५ सय ९६ भन्दा बढी संक्रमित भएका छन् भने २ लाख २ हजार २ सय १३ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै संक्रमित भारतका छन् भने तेस्रो बढी संक्रमित रहेको देश ब्राजिल हो ।
मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५२ लाख नाघेको छ ।
ब्राजिलमा १ लाख ३५ हजार ३१ जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८४ हजार ४ सय ४ जनाको मृत्यु भएको छ । रुस १० लाख ८५ हजार २ सय ८१ संक्रमितसहित चौथो स्थानमा छ भने पाचौं स्थानमा रहेको पेरुमा ७ लाख ५० हजार ९८ व्यक्ति संक्रमित छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा संक्रमण देखिएको छ । रासस