एजेन्सी । भारतमा कोराना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५ सय ५१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
सोही अवधिमा भारतमा कोरोनाकै कारण १ हजार २ सय ९ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा अहिलेसम्म कुल ४५ लाखभन्दा बढी संक्रमित भएको विवरण सार्वजनिक गरिएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरी कुल ४५ लाख ६२ हजार ४ सय १५ जना कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । कुल संक्रमित मध्ये ९ लाख ४३ हजार ४ सय ८० जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ३५ लाख ४२ हजार ६ सय ६४ जना संक्रमणमुक्त भइसकेका छन् ।
भारतमा अहिलेसम्म कोरोनाकै कारण मृत्यु भएकाको संख्या ७६ हजार २ सय ७१ पुगेको अधिकारीहरुले शुक्रबार जनाएका छन् । भारतका प्रदेशमध्ये सबैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्र प्रदेशमा मात्रै अहिले २ लाख ५३ हजार १ सय मानिस कोरोनाबाट प्रभावित भएका सक्रिय संक्रमित रहेका छन् ।
महाराष्ट्रमा मात्रै अहिलेसम्म कुल ६ लाख ८६ हजार ४ सय ६२ जना संक्रमित भएका छन् भने अरु २७ हजार ७ सय ८७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । त्यसैगरी दोस्रो धेरै प्रभावित भएको आन्द्र प्रदेशमा ९७ हजार २ सय ७१ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् ।
यस प्रदेशमा अहिलेसम्म कुल ४ लाख २५ हजार ६ सय ७ जना संक्रमित भएका छन् भने ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । रासस