कोरोनाबाट १ हजार बढीको मृत्यु भएपछि इजरायलमा राति कर्फ्यु

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कोरोनाभाइरसबाट अति प्रभावित झण्डै ४० वटा सहर बजारमा रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाइने आइतबार घोषणा गरेका छन् । इजरायली वरिष्ट अधिकारीहरुको आइतबार अबेरसम्म घण्टौं चलेको परामर्श बैठकपछि उक्त निर्णय घोषणा गरिएको थियो । देशभर १ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएपछि सरकारले नयाँ नियमहरु घोषणा गर्नु परेको हो । पछिल्ला दिनमा इजरायलमा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् ।

यस्तो कफ्र्यु सोमबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म लाग्नेछ । तर यो कर्फ्यु कति समयसम्म जारी रहनेछ भन्ने स्पष्ट भइसकेको छैन । मानिसहरुलाई आफ्ना घरबाट ५ सय मिटरभन्दा टाढा नजान र अत्यावश्यकभन्दा बाहेकका अरु व्यापार व्यवसाय बन्द गर्न भनिएको छ ।

इजरायलले कोरोना नियन्त्रणका लागि शुरुमा अपनाएका विधिप्रति धेरैले सकारात्मक रुपमा लिएका थिए । तर मे महिनामा नियमहरुलाई खुकुलो बनाएसँगै नयाँ संक्रमितको संख्या ह्वात्तै बढेको थियो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विरोधमा भइरहेको साप्ताहिक प्रदर्शनका कारणले पनि संक्रमण फैल्याउन मद्दत गरेको छ ।

पछिल्ला दिनहरुमा दैनिक ३ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिन थालेको छ । सरकारले संक्रमण रोक्न राष्ट्रव्यापी लकडाउन गर्ने सोचाई पनि अघि सारेको छ । समग्रमा, इजरायलमा १ लाख ३० हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् र अझै २६ हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित छन् ।

हाल प्रत्येक दिन ३ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । प्रधानमन्त्री नेतन्याहूले नियुक्त गरेका कोरोनाभाइरस परियोजना व्यवस्थापक डा रोन्नी गाम्जुको परामर्शमा सेनाले कोरोना संक्रमण रोक्न गत महिना एउटा कार्यदल गठन गरेको छ ।

यसले मुख्य कार्य नै संक्रमित व्यक्तिको सम्पर्क पहिचान गर्ने र संक्रमणको शृंखला रोक्ने रहेको छ । इजरायली अधिकारीहरुमाथि व्यवसाय र विद्यालयहरु चाँडै खोलिएको भन्दै जनस्तरबाट आक्रोश व्यक्त भइरहेको छ । रासस

कमेन्टहरु
Loading...