कोरोनाबाट विश्वभर २ करोड बढी संक्रमित, ७ लाख ४६ हजारको मृत्यु

एजेन्सी । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर २ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार दिउँसोसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर ७ लाख ४६ हजारको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी देखिएका मुलुकमा संयुक्त राज्य अमेरिका, ब्राजिल, मेक्सिको, भारत र रसिया समेतका छन् ।

अमेरिकामा ५३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ब्राजिलमा ३१ लाख, भारतमा २३ लाख, रसियामा ९ लाख, दक्षिण अफ्रिकामा ५ लाख ६६ हजार, मेक्सिकोमा ४ लाख ९२ हजार, पेरुमा ४ लाख ८९ हजार तथा कोलम्बियामा ४ लाख १० हजार संक्रमित छन् ।

कोरोनाको संक्रमणबाट मृत्यु भएका नागरिक पनि अमेरिकामा सबैभन्दा बढी छन् । पछिल्लो विवरण अनुसार अमेरिकामा हालसम्म १ लाख ६७ हजार, ब्राजिलमा १ लाख ३ हजार, भारतमा ४६ हजार, रसियामा १५ हजार, मेक्सिकोमा ५४ हजार, दक्षिण अफ्रिकामा १० हजार, पेरुमा २१ हजारको मृत्यु भइसकेको छ ।

युरोपेली मुलुकमा पछिल्ला दिनमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ ।

यद्यपी युरोप महादेशमा कूल संक्रमितमध्ये २ लाख ७ हजारको मृत्यु भइसकेको छ । भाइरस फैलिने क्रम तीव्र रहेको दक्षिण अमेरिकी महादेशमा हालसम्म १ लाख ६३ हजार, एसियामा १ लाख १३ हजार, उत्तर अमेरिकामा २ लाख ३८ हजार, अफ्रिकामा २४ हजारको ज्यान गएको छ । रासस

कमेन्टहरु
Loading...