बेरुतमा भएको विस्फोटनका कारण ६० जना अझै बेपत्ता

एजेन्सी ।

लेबनानको राजधानी बेरुतमा भएको विस्फोटनका कारण बेपत्ता भएका मध्ये ६० जना अझै सम्पर्कविहीन रहेका छन् । दुर्घटना भएको ४ दिन बितिसक्दा समेत बेपत्ता भएकालाई पत्ता लगाउन नसकिएको अधिकारीहरुले जनाएका छन् । शक्तिशाली विस्फोटनका कारण अहिलेसम्म १ सय ५० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । ‘अहिलेसम्म मृत्यु भएकाको संख्या १ सय ५४ पुगेको छ । ती मध्ये २५ जनाको अहिलेसम्म पनि पहिचान हुनसकेको छैन ।’ एक अधिकारीले एएफपीलाई भने ।

उनले अहिलेसम्म पनि ६० जना बेपत्ता नै रहेको र उनीहरुको खोजी तथा उद्धार प्रयास भइरहेको जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रीले शुक्रवार दिएको जानकारीअनुसार झण्डै ५ हजार जना घाइते भएका र ती मध्ये १ सय २० जनाको अवस्था गम्भीर रहेको बताए । विस्फोटनपछि झण्डै ३ लाखभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् भने त्यही रहेका पनि त्रसित अवस्थामा रहेका छन् । शक्तिशाली विस्फोटनका कारण उनीहरु घरबारविहीन भएकाले उनीहरु विस्थापित हुन परेको अधिकारीहरुले जनाएका छन् ।

लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार अबेर विनाशकारी र शक्तिशाली विस्फोट भएको थियो । करिब २ हजार ७ सय ५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको १ गोदाम घरमा भएको यस विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको थियो । यस गोदाममा सन् २०१४ मा १ कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइटे«ट’ भण्डारण गरिएको थियो ।

यस विस्फोटनको घटनाप्रति विश्वभरका नेताले सहानुभूति र समवेदना व्यक्त गर्दै खेद व्यक्त गरेका छन् भने कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायले लेबनानलाई सहयोग गरेका छन् । रासस

कमेन्टहरु
Loading...