एजेन्सी ।
लेबनानको राजधानी बेरुतमा भएको विनाशकारी विस्फोटनपछि झण्डै ३ लाख मानिस विस्थापित भएका छन् । शक्तिशाली विस्फोटनका कारण उनीहरु घरवारविहीन भएकाले उनीहरु विस्थापित हुनु परेको अधिकारीहरुले बुधबार जनाएका छन् ।
स्थानीय गभर्नर ममार्वान अब्बौडले विस्थापित हुनेहरुको विवरण संकलनकै क्रममा रहेको र अझै धेरै विस्थापित भएको हुनसक्ने बताएका छन् । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार अबेर विनासकारी र शक्तिशाली विष्फोट भएको थियो । विस्फोटनमा परी १ सयभन्दा बढीको मृत्यु भएको छ भने ४ हजारभन्दा बढी घाइते भएका छन् ।
करिब २ हजार ७ सय ५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको स्थानीय बासिन्दाले बताएका छन् । यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइटे«ट’ भण्डारण गरिएको थियो ।
लेबनानका प्रधानमन्त्री हासान डियाबले यस विष्फोटलाई देशको ठूलो विपत्तिको रुपमा लिइएको बताएका छन् । उनले १ टेलिभिजनमा सम्बोधन गर्दै यस घटनामा संलग्नलाई कडा कारवाही गरिने प्रतिबद्धता पनि जनाएका छन् ।
यस विस्फोटनको घटनाप्रति विश्वभरबाट सहानुभूति र समवेदना व्यक्त भइरहेको छ । कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायले लेबनानलाई सहयोगको घोषणा पनि गरेका छन् । रासस