पोखरा, साउन १५ ।
‘कम्युनिष्ट पार्टीमा लागेर अकुत कमाएर रमाएकालाई त मज्जा आएको होला, आफन्त गुमाएका परिवार, घाइते योद्धा र मृत्युको मुखबाट फुत्केर बाँचेका एवं इमान्दार कार्यकर्तालाई नेकपाको गतिविधिले चिन्ता बढाएको छ ।’ गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका नेकपा प्रदेश कमिटी सदस्य रामजीप्रसाद बरालले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा व्यक्त गरेको भनाइ हो यो ।
सत्तारुढ नेकपाको केन्द्रमा उत्पन्न विवादले यतिबेला राष्ट्रिय राजनीतिमा जति चर्चा र चासो बढेको छ, त्यसरी नै पार्टीभित्रको विवाद झन् बढ्दै जाँदा जिल्लामा कार्यकर्तासमेत पार्टी विभाजनको सम्भावित संकटबाट चिन्तित छन् । पछिल्ला दिनमा पार्टीको आन्तरिक जीवनमा देखिएको असहज अवस्थाप्रति केन्द्रदेखि जिल्लास्तरका नेता तथा कार्यकर्ताले चिन्ता व्यक्त गर्दै पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वलाई खबरदारी गरेका छन् । स्थिरता र समृद्धिको नारासहित एकीकृत पार्टी बनाउने प्रतिबद्धतासहित जनतामा गएर मत मागेका २ कम्युनिस्ट पार्टी एकताबद्ध भएको २ वर्षमै पार्टीभित्र देखिएको विवादले तल्लो तहका कार्यकर्तामा असन्तोष पैदा गरेको हो ।
पार्टीको अहिलेको विवादले चरम निराशा छाएकाले नेतृत्वले सुझबुझ ढंगबाट मतभेदको समाधान गरी सम्पूर्ण पार्टी नेता, कार्यकर्ता र जनतामा उत्साह दिन सक्नुपर्ने भनाई प्रदेशसभा सदस्य बरालको छ । ‘तत्कालीन २ कम्युनिस्ट पार्टी मिलेर बनेको नेकपा ठूलो त्याग, समर्पण र बलिदानबाट स्थापित भएको हो, देशको समृृद्धिको अगुवाइ गर्ने जिम्मेवारी रहेको पार्टीको नेतृत्वमा देखिएको विवादले हामी चिन्तित छौं ।’ बरालले भने, ‘अहिलेको अन्तर विरोधलाई हल गरेर २ अध्यक्षले पुनः कार्यकर्तामा उत्साह जगाउने र खुसीको खबर दिने विश्वास छ ।’
कास्कीको माछापुुच्छ«े गाउँपालिका–२ सार्दीखोलाका हर्कबहादुर घर्ती क्षेत्रीले कम्युनिस्ट पार्टीमा ४ दशकभन्दा बढी समय खर्चिए । उनको घर पञ्चायतकालमा नेकपाका नेता बामदेव गौतम, स्व.जीवराज आश्रित, किरण गुरुङलगायतका नेताको ‘सेल्टर’ थियो । विसं २०३४ देखि तत्कालीन नेकपा मालेमा आवद्ध भएर शिक्षणसहित पार्टी राजनीतिमा लागेकी उनी ७५ वर्षको उमेरमा समेत सक्रिय छन् र नेतृत्वमा देखिएको अहिलेको विवाद समाधान हुने तथा पार्टी नफुट्नेमा विश्वस्त छन् ।
तत्कालीन नेकपा एमाले र माओवादीका बीचमा एकता भएर एउटै पार्टी गठनले आफूहरुको सपना पूरा भएको र गाउँमा बस्ने कार्यकर्तामा उत्साह थपेको बताउँदै उनले पार्टीका २ अध्यक्ष मिलेर अहिलेको विवाद मिलाउनुपर्ने र सबै नेतालाई समेट्नुपर्ने उनको भनाइ छ । लामो समय स्वतन्त्रता र परिर्वतनका लागि संघर्ष गरेका, पार्टी निर्माणमा आफ्नो जीवन समर्पण गरेका नेताले नेतृत्व गरेको पार्टी विभाजन नहोला भनेर भित्रैबाट लागे पनि अहिलेको विवाद बढ्दै गएर पार्टी विभाजन हुने हो कि भन्ने चिन्ताले भने आफूलाई सताइरहेको क्षेत्री बताउँछन् ।
‘आफू भोकै बसेर भए पनि पालेका नेताहरुले पहिलाको भूमिगत अवस्था बुझेर जनतालाई सुख सुविधा र देशको विकास गर्छन् भन्ने थियो तर ती सबै सपना भए । अहिले एकतापछि केही होला भन्ने लागेको थियो तर आफू÷आफू शक्तिका लागि लड्न थाले । ‘क्षेत्रीले भने, ‘अझै पनि समय छ स्थायी कमिटी, सचिवालयमा नेताले सल्लाह, सुझाव लिएर पार्टीलाई मिलाउलान् र एकताका लागि छाती ठूूलो बनाएर त्याग गरेर भए पनि पार्टी बचाउलान् भन्नेमा छौं ।’
नेकपा पोखरा महानगर कमिटीका अध्यक्ष दीपक पौडेल जनताको चाहना, देशको आवश्यकता र दुई अध्यक्षको निर्णय गर्ने क्षमताका कारण दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि पार्टी एकता भएकाले अहिलेको गतिविधि तत्काल रोेकिनुपर्ने बताउँछन् । ‘कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन र देशको विकासका लागि २ अध्यक्ष मिल्नुको विकल्प छैन, जनताका बीचमा गरेका कबोल पूरा गर्नेतर्फ ध्यान दिनु आवश्यक छ, महानगर कमिटीले विज्ञप्तिमार्फत नेतृत्वलाई एकताबद्ध हुन आग्रह गरिसकेका छौं ।’ पौडेलले भने ।
राष्ट्रिय युवा सघंका जिल्ला संयोजक भोजराज पौडेलले केन्द्रमा चलेको विवादले तल्लो तहमा सङ्गठनात्मक गतिविधि तथा एकीकरणका बाँकी कामसमेत प्रभावित भएको बताए । २ अध्यक्षले एकताको मर्म र भावनालाई आत्मसात गरेर जनयुद्ध, जनआन्दोलन लगायतका आन्दोलनको म्याण्डेटअनुसार पार्टी विधि र विधानमा सञ्चालन गर्दै आम जनताको सपना साकार पार्नुपर्ने बताए । उनले भने, ‘कम्युनिस्ट पार्टीलाई जनताले दिएको मतको कदर गरेर सरकार सञ्चालन गर्नुपर्छ, पार्टी विभाजनको कुनै पनि गुञ्जायाससमेत कार्यकर्तालाई सह्य छैन ।’ रासस