कास्की जिल्ला फुटबल संघ माथि एन्फाको छानविन शुरु

पोखरा, १९ असार / कास्की जिल्ला फुटबल संघभित्र आर्थिक पारदर्शीता नभएको भन्दै अखिल नेपाल फुटबल संघ(एन्फा)ले छानविन शुरु गरेको छ ।

छानविनको लागि तीन सदस्यीय टोली बुधबारदेखि छानविनको काम अघि बढाएको छ । बुधबार पहिलो दिन छानविन समितिले फुटबल संघका पदाधिकारी एवं सदस्यहरुसँग आवश्यक छलफल गर्दै समितिको बारेमा जानकारी दिई सहयोगको अपिल गरेको छ ।

एन्फाका उपाध्यक्ष विरबहादुर खड्काको संयोजकत्वमा गठित छानविन टोलीमा विष्णुप्रसाद पराजुली(चाटर्ड एकाउन्टेण्ट) र आनन्द रन्जित(पूर्व अध्यक्ष कास्की जिल्ला फुटबल संघ) छन् ।
छानविन समितिले पछिल्लो दुई वर्षको कास्की जिल्ला फुटबल संघको गतिविधिसहित आयव्यय तथा एन्फाले उपलब्ध गराएको पैसाको खर्चको विवरण छानविन शुरु गरेको छानविन समितिका सदस्य आनन्द रन्जितले बताए ।

समितिले पछिल्लो दुई वर्षमा भएका मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगिता, प्रदेशस्तरिय फुटबल प्रतियोगिा र जिल्लास्तरीय फुटबल प्रतियोगिता गरि ६ वटा प्रतियोगिताको आयव्ययको खर्च विवरण हेर्नकाम भईरहेको उनले बताए । मनकामना केवलकार पोखरा कपदेखि ग्रास रुट कार्यक्रम सबैको आयव्यय विवरण सबै हरहिसाब हेरी रहेको उनले बताए ।

एन्फाले कास्की जिल्ला फुटबल संघलाई दुईवर्षमा १२ लाख रुपैयाँ खातामा पठाईदिएको थियो । पठाईदिएको रकम पनि पारदर्शी ढंगले खर्च नभएको गुनासो रहदैं आएको थियो । कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ केही महिना अघि मात्रै फर्जी (बाउन्स)चेकको अभियोगमा पक्राउ परेका थिए । केही समय अघि कास्की जिल्ला फुटबल संघ विरुद्ध नै उजुरी परेको थियो ।

उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले फुटबल संघलाई जानकारीको लागि पत्र पठाएको थियो । पत्र अनुसार कास्की जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता कतिऔं सस्करण सम्पन्न भए? मनकामना केवलकार पोखरा कपको आम्दानी विवरण(प्रवेश शुल्क/टिकट विक्री/प्रायोजक/उपप्रयोजक/व्यापारी तथा व्यवसायसँग विज्ञापन वापतको शुल्क के कति आएको ? विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार राशी उपलब्ध भईसकेको छ /छैन ?, खर्चको रकममा टि.डि.एस कट्टा गरी दाखिला भए नभएको विवरण पेश गर्न आग्रह गरेको छ ।

प्रशासनले २०७४ माघ २ गते भएको निर्वाचनपछि गठित समितिले कुन कुन संस्करणको के कस्ता स्तरका प्रतियोगिता सञ्चालन भए, मिलन गुरुङ अध्यक्ष भएपछि कुन कुन स्तरका कति खेलहरु सम्पन्न गरिए सो को आयव्यय सहितको सम्पूर्ण विवरण खुलाउने विषयमा परिपत्र गरेको छ । त्यही परिपत्रकै आधारमा अखिल नेपाल फुटबल संघ(एन्फा)ले छानविन थालेको हो ।

कमेन्टहरु
Loading...