पोखरा सहित देशका बिभिन्न स्थानमा शंकास्पद वस्तु फेला (कहाँ-कहाँ भेटियो हेर्नोस्)

पोखरा,१३ जेठ/पोखराका सहित देशका बिभिन्न स्थानमा विष्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका छन ।पोखराको सिर्जनाचोक नजिक एनसेल कार्यालय,  न्यूरोडमा रहेको आईडिया केजलको गेट, अन्नपूर्ण गाउँपालिकाको नौडाडा  सहित नयाँपुल नजिक धोतिखोला र ​ माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकपुलमा शंकास्पद बस्तु भेटिएको छन् । पोखराको न्युरोड, सिर्जनाचोक र कास्की नौडाडामा भेटिएका विष्फोटक पदार्थ र शंकास्पद वस्तुलाई सुरक्षाकर्मीको टोलीले निष्कृय पारेको छ ।

यस्तै भक्तपुरको च्यामासिंह स्थित मालपोत कार्यालय नजिक सोमबार बिहान फेला परेको शंकास्पद वस्तुलाई पनि सुरक्षाकर्मीको टोलीले निष्कृय पारेको छ ।ललितपुरको टुटेपानी भन्ने ठाउँमा पनि प्रेसर कुकर बम भेटिएको छ । सोमबार बिहान विप्लव नेतृत्वको समूहले बम राखेको प्रहरी जनाएको छ । यसैगरी नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमबाट चालक घाइते भएका छन ।

यसैगरी मोरङको सुन्दरहरैंचा ७ ठडिया चोक नजिक फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले निष्कृय पारेको छ ।रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ ।अर्घाखाँचीको सन्धिखर्क स्थित अर्घाखाँची आवासीय माविमा र बाग्लुङको बाग्लुङ नगरपालिका २ कुडुलेचोकमा पनि शंकास्पद बस्तु फेला परेका छन ।कपिलवस्तुको वाणगंगाका दुई स्थानमा शंकास्पद बस्तु फेला परेका हाम्रा सहकर्मीहरुले जनाएका छन ।

ती सबै शंकास्पद बस्तुहरु विप्लव समूहले सोमबारको एक दिने बन्द सफल पार्ने उद्देश्यले राखेको अनुमान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा आइतबार अपराह्न काठमाडौंका तीन स्थानमा बम विफोट हुँदा चार जनाको मृत्यु भएको थियो ।काठमाडौं र ललितपुरका बिभिन्न स्थानमा विष्फोटक पदार्थहरु पनि फेला परेका थिए ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको महादेवबेंशी पुलमा पनि विस्फोटक पदार्थ फेला परेको छ ।

यस्तै, विप्लव समूहले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रु बसमा आगजनी गरेको छ । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा विप्लव समूहका कार्यकर्ताले सोमबार बिहान आगजनी गरेका हुन ।हतियारसहित आएका विप्लवका कार्यकर्ताले आइतबार राति साढे एक बजेतिर बसका स्टाफ र सबै यात्रुहरुलाई ओरालेर आगजनी गरेका थिए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले कार्यकर्ता हत्याको बिरोधमा भन्दै सोमबार नेपाल बन्दको आवाहन गरेको हो । गण्डकी प्रदेशको राजधानी पोखरा सहित यस आसपासका क्षेत्रहरुमा बन्दको आशिंक प्रभाव परेको छ ।सार्वजनिक सवारी साधन चलेका छैनन भने बजार पसल बन्द रहेका छन्। सडकमा केही मात्रामा मोटर साईकलहरु भने चलेको देख्न सकिन्छ ।

कमेन्टहरु
Loading...