काठमाडौं, १२ जेठ/ काठमार्डौको सुकेधारा र घट्टेकुलोमा बम विस्फोट हुँदा आइतबार दिउँसो तीन जनाको मृत्यु भएको छ भने घटनामा ६ जना घाइते भएका छन् ।
सुकेधारा र घट्टेकुलो दुबै घटना स्थलमा एक/ एक जना मृत भेटिएका छन भने ओम अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको छ ।ओम अस्पतालमा मृत्यु हुने सुकेधारा विस्फोटका घाइते हुन । ओम अस्पतालमा अरु ५ जनाको उपचार भइरहेको छ ।
घट्टेकुलो विस्फोटका घाइते रविन केसीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।घट्टेकुलो विस्फोटका घाइते केसी विप्लव समूहका विद्यार्थी नेता हुन ।
सुकेधारा विस्फोटमा घाइते भएका सुरेन्द्र महर्जन विप्लव समूहको भातृ संस्था नेवा मुक्ति मोर्चाका नेता रहेको प्रहरीले जानकारी दिएको छ ।
सुकेधारा स्थित ढलाने पुल नजिकै सैलुनमा बम विस्फोट भएको थियो ।दुबै विस्फोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको पुष्टि भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार नेपाल बन्द आवहान गरेको छ ।