पोखरा, १७ पुस /पोखरा लेखनाथ महानगरपालिका १८ सराङकोटमा निर्माणधीन एक होटलमा दुई जनाको मुत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । माउन्टेन रिसोर्ट एण्ड स्पा निर्माणमा खटिएका दुई मजदूर मृत अवस्थामा भेटिएका हुन् ।
आइतबार अवेरसम्म मजदुर काममा नआएपछि उनीहरुको खोजी सुरु गरिएको थियो । निर्माणाधीन भवनमा काम गर्ने अन्य मजदुरले आफ्ना साथीहरुको खोजी गरेका थिए । सुतिरहेको कोठामै २ जनालाई मृत अवस्थामा र १ जनालाई घाइते अवस्थामा भेटाएका थिए । उनीहरुको पुरै परिचय नखुले पनि धरान, धनकुटातिर घर भएको बताइएको छ ।
घाइते भएका १ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनी गम्भीर घाइते छन् । ३० बर्ष माथीका देखिने तीनैजनाको शरीरमा चोटपटक लागेको देखिएको प्रहरीले जानकारी दिएको छ । शरीरमा चोट देखिएकाले उनीहरुको हत्या भएको पनि हुन सक्ने प्रहरी अनुमान छ । तर, कसरी घटना भयो र यसको कारण के थियो प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले मृतक तथा घाइतेका साथी, काम लगाउने व्यक्ति र स्थानीयसँग सोधपुछ गरी अनुसन्धान गरिरहेको छ । अघिल्लो दिन १५ पुस भएकाले मजदुर बिदामा थिए । निर्माण पक्षले सार्वजनिक बिदाका दिन मजदुरलाई पनि बिदा दिएको थियो ।
उनीहरु अघिल्लो दिन मदिरा सेवन गरी हिँडेको स्थानीयले बताएका छन् । तर, मदिराकै कारण उनीहरुको मृत्यु भएको कि हत्या गरियो भन्ने बारेमा यसै भन्न नसकिने प्रहरीले बताएको छ ।
४ जना एउटै कोठामा सुतेकोमा २ जना मृत र एक जना घाइते भएका छन् भने एक जना वेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ । घटनाको अनुसन्धानको लागि प्रहरीले ११ जना लाई गिरफ्तार गरेको छ । वेपत्ता मजदुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।