एजेन्सी, १८ भदौ /उत्तर कोरियाले लामो दुरी सम्म प्रहार गर्ने क्षेप्यास्त्रमा राख्न सकिने परमाणु हतियारको सफल परिक्षण गरेको दाबी गरेको छ । भूगर्भविद्हरुले उत्तर कोरियामा भूकम्प मापन गरेको केही घण्टापछि प्योङयाङले आफ्नो छैटौँ परमाणु परिक्षण ‘पूर्ण सफल’ भएको जनाएको हो ।
प्योङयाङले आफूहरुले हाइड्रोजन बम परिक्षण गरेको बताएको छ । यो परमाणु बमभन्दा कयौँ गुणा शक्तिशाली हुन्छ ।विज्ञहरुले प्योङयाङको दाबीलाई संयमताको साथ अध्ययन गर्नुपर्ने बताएका छन् । तर, उत्तर कोरियाको परमाणु क्षमतामा उल्लेख्य बृद्धि भएको स्वीकार भने गरेका छन् ।
दक्षिण कोरियाको सरकारी समाचार सेवा योनह्यापले उत्तर कोरियाले आइतबार परिक्षण गरेको परमाणु बम जापानको नागासाकी शहरमा सन् १९४५ मा खसालिएको बमभन्दा चारदेखि पाँच गुणा शक्तिशाली भएको बताएको बिबिसीले उल्लेख गरेको छ । दक्षिण कोरियाका रक्षा मामिलाका संसदीय समितिका प्रमुख किम योङ वुले सैन्य सुत्रको हवाला दिँदै आइतबार गरिएको परिक्षण पछिल्लो वर्ष गरिएको पाँचौ परिक्षणभन्दा धेरै शक्तिशाली रहेको बताए ।
उत्तर कोरियाले पछिल्लो पटक सेप्टेम्बर २०१६ मा परमाणु परिक्षण गरेको थियो । संयुक्त राष्ट्रसंघको प्रतिबन्ध र अन्तर्राष्ट्रिय समूदायको दबाबका बावजुद उत्तर कोरियाले परमाणु हतियारको विकास र क्षेप्यास्त्र परिक्षणलाई अघि बढाउँदै लगेको छ । अमेरिकासम्म पुग्ने क्षेप्यास्त्र निर्माण गर्ने उसको लक्ष्य छ । वासिंगटनबाट ट्रम्प प्रशासनले दिएको धम्की वा अन्तर्राष्ट्रिय समूदायको भत्सर्नाको बावजुद प्योङयाङले आफ्नो परमाणु गतिविधि रोक्ने वाला छैन ।
कत्रो थियो आजको विस्फोट ?
अमेरिकी जियोलोजिकल सर्भेले शुरुमा ५.६ म्याग्निच्युडको भूकम्प १० किलोमिटर गहिराईमा आएको रिपोर्ट सार्वजनिक गरेको छ । पछि त्यसलाई बढाएर ६.३ म्याग्निच्युड बनाइएको थियो । यसको केन्द्रविन्दु ० किलोमिटर तल भएको बताइएको थियो । यसले यो परिक्षण अहिलेसम्मकै शक्तिशाली भएको थियो ।