रुपन्देही, पुस ४ ।युवा संघ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी दुर्गा तिवारीको सोमबार अज्ञात समूहले गोली हानी हत्या गरेको छ । मोटरसाइकल चढेर देवदह चोकदेखि घरतर्फ जाँदै गरेको अवस्थामा उनलाई देवदह-८ मा मोटरसाइकलमै आएका अपरचित व्यक्तिले छातिमा गोली प्रहार गरेको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका तिवारीको देवदह स्थित देवदह मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रदीप डिसीले जानकारी दिए ।

४० वर्षका तिवारी स्थानीय केविआई इट्टा भट्टाका सञ्चालक समेत रहेका युवा व्यवसायी थिए । झण्डै ६ महिना अघि पनि आफ्नै भट्टामा बसिरहेको अवस्थामा तिवारीमाथि आक्रमण भएको थियो । तर, त्यतिबेला आक्रमणबाट बचेका तिवारीलाई सोही समूहले नै हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । यसैबिच, आफ्ना रुपन्देही अध्यक्षको हत्याको विरोधमा युवा संघले आन्दोलनको घोषणा गरेको छ । घटना लगतै बसेको युवा संघको आकस्मिक बैठकले महासचिव किरण पौडेलको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ ।
समिति घटनाबारे बुझ्न भोलि नै बुटबल जानेछ ।साथै बैठकले संघले भोलि ५ गते लुम्बिनी बन्दको आहृवान गरेको छ भने देशभर १ देखि २ बजेसम्म चक्काजाम गर्ने निर्णय गरेको प्रवक्ता प्रभावविक्रम कटवालले जानकारी दिए ।उनका अनुसार हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै भोलि नै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी छ ।