कपिलवस्तुमा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा महाराजगञ्ज नगरपालिका–११ बाबा बनगाईका ४५ वर्षीय रामकेवल लोनिया छन्।
पैंतीस वर्षीया श्रीमतीलाई भदौ १५ गते काठ लिन जाने बहाना बनाई बुद्धभूमि नगरपालिका–९ चम्पापुरस्थित कपिलवस्तु साझेदारी सामुदायिक जंगलमा लगेर हत्या गरी उनी भारततर्फ फरार भएका थिए।
लोनियालाई खोजतलास गर्ने क्रममा कात्तिक १९ गते बिहान बुद्धभूमि नगरपालिका–९ डुमराबाट इलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
भदौ १५ गतेदेखि हराएकी चिन्काको शवको कंकाल गत असोज १७ गते जंगलमा फेला पारेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए। लोनियामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।