तनहुँ संवादाता । जिल्लामा सञ्चालित दुई वटा बेकरी उद्योग विरुद्ध मुद्दा दर्ता भएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्वर ६ स्थित प्रिती बेकरी उद्योग र आयसा अरमान पाउरोटी उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालय तनहुँमा मुद्धा दर्ता गरिएको हो ।
गत चैत ९ गते अनुगमनको क्रममा ती बेकरीबाट उत्पादित बेकरीजन्य पदार्थहरुको नमूना संकलन गरिएको र परीक्षणका क्रममा अखाद्य रहेको भेटिएको खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका प्रमुख प्रशान्त पोख्रेलले जानकारी दिए ।
‘उत्पादित बेकरीजन्य बस्तुको नमूना परीक्षणका लागि भैरहवा स्थित प्रयोगशालामा पठाइएको र लेबल खाद्य नियमावली २०२७ को नियम १८ विपरित भएको अभियोगमा खाद्य ऐनको नियम १५ बमोजिम खाद्य मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको हो’, उनले भने ।
त्यस्तैगरी जिल्लामा चालु आवको ५ बैशाखसम्म ४ वटा मुद्दा दर्ता गरिएको र तीमध्ये २ वटा तनहुँ जिल्ला अदालतमा दर्ता भएको उनले बताए ।
त्यस्तै अनुगमन गर्ने क्रममा अधिकांश उद्योगहरुले खाद्य अनुज्ञा पत्र नलिइकन खाद्य वस्तुको उत्पादन, प्रशोधन, भण्डारण तथा विक्री वितरण गरिएको पाइएकोले त्यस्ता व्यवसायीलाई एक पटकलाई सचेत गराइएको उनले बताए ।
खाद्य अनुज्ञापत्र नलिकन खाद्य उद्योग सञ्चालन गरिएमा ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजायँ हुन सक्ने प्रावधान रहेको छ । लेबल विवरण तोके बमोजिम नभएमा १० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान खाद्य ऐनको दफा ५ मा उल्लेख छ ।
खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले तनहुँसहित लमजुङ, गोरखा, मनाङ र पुर्वीनवलपरासीको अनुगमन गर्ने जिम्मेवारी पाएको हो ।