कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये ३ जनाको ज्यान गएको छ । दुर्घटनामा घाइते भएकामध्ये २ महिला र १ जना पुरुषको उपचारका क्रममा ज्यान गएको हो ।
दुर्घटनामा परी घाइते भएका ३१ मध्ये ३ जनाको राति उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताएका छन् । दुर्घटनामा परी ज्यान गयो हुनेमा इलाम बस्ने २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका–५ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका–२ स्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका–२५ बस्ने ७२ वर्षीय हिमलाल न्यौपाने रहेका छन् ।
अन्य घाइतेको भने भरतपुर तथा नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रनाउक गिरीले बताए ।
शनिबार साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको यात्रुबाहक बस आफैं अनियन्त्रित भई सडकबाट २ मिटर तल खसेको थियो ।
बस दुर्घटनामा परी बसमा सवार सबै घाइते भएका थिए । सडकबाट तल भिरमा बस खसेकाले घाइतेको उद्धारमा समेत कठिनाइ भएको थियो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्किबासको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो । रासस