झापा । घर भाडामा लिएर युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा २ जना महिला पक्राउ परेका छन् ।
झापाको दमक नगरपालिका वडा नम्बर ६ सब्जीमण्डीमा घर भाडामा लिएर युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा २ जना महिलालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।
प्रहरीले विशेष सुचनाका आधारमा इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ४ की ३८ वर्षीय बन्ठी भनिने नन्दिता साँवा लिम्बु तथा मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ की ३८ वर्षीय उर्मिला नेम्वाङलाई पक्राउ गरेको जानकारी दिएको छ ।
उनीहरु दुवै जनाले सोही घरमा युवतीलाई राखेर वेश्वावृत्ति गराएको बताइएको छ ।
दमक बजारमा रोजगारको खोजीमा भएको विभिन्न उमेर समुहका युवतीलाई वेश्यावृत्तिमा लगाएको प्रहरीको आरोप छ । दुवै जनाले भाडामा लिएको घरबाट चैत्र ६ गते १७ देखि ३९ वषैसम्मका ८ जना युवती तथा महिला भेटिएका थिए ।
त्यसरी भेटिएका युवती तथा महिलाले प्रहरीसंगको बयानका क्रममा आफूहरुलाई वेश्यावृत्तिमा लगाएको बताएपछि त्यसमा संलग दुवै जना महिला पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले दुवै जनाविरुद्ध जिल्ला अदालत झापाबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको बताएका छन् ।
प्रहरीले युवती तथा महिलालाई अदालतबाट प्रमाणित गराएर आफन्तको जिम्मा लगाएको छ ।