अभियुक्तको डीएनए र भागरथीको भजाइनल स्वाब म्याच भयो

बैतडी । भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्ट र मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए म्याच भएको छ । बलात्कार र हत्या प्रकरणमा अनुसन्धानको महत्वपूर्ण पक्ष मानिएको भजाइनल स्वाबको डिएनए परीक्षणको रिपोर्ट म्याच भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहले जानकारी दिएका हुन् । सिंहका अनुसार केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको पाइएको हो । स्वाब म्याच भएपछि मुद्दा थप बलियो बनेको प्रहरीले बताएका छन् ।

प्रहरीले घटनामा भट्टको संलग्नता देखिएको भन्दै ४ फागुनमा उनलाई पक्राउ गरेको थियो । त्यसवेला उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकारेका थिए । उनलाई २६ फागुनमा जिल्ला अदालत, बैतडीले पुर्पक्षका लागि दिपायलस्थित सुधार गृह पठाउन भनेको थियो । अभियुक्तले पुर्पक्षमा रहेको अवस्थामा बयान फेरेका थिए । अभियुक्त दिनेशले भागरथीको हत्यामा आफ्नो संग्लनता नरहेको र हत्यामा संग्लन व्यक्तिलाई आफूले देखेको बताएका थिए ।

सनातन धर्म मावि खोचलेकबाट माघ २१ गते घर फर्किने बेला हराएकी भागरथीको २२ गते शव भेटिएको थियो ।  भागरथी विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन् । पोष्टमार्टमपछि भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

कमेन्टहरु
Loading...