बैतडी । भागरथी भट्टको बलात्कारपछिको हत्या प्रकरणमा फेरी विभिन्न शंका तथा उपशंका उत्पन्न भएका छन् ।
अभियुक्त दिनेश भट्टले बयान फेरेपछि बैतडीको दोगडाकेदारकी १७ वर्षीय किशेरी भागरथीको बलात्कार पछि हत्या प्रकरणमा विभिन्न शंका तथा उपशंका उत्पन्न भएको हो । हाल अदालती प्रक्रिया सबै पुरा गरेर दिनेश बाल सुधार गृहमा पुगिसकेका छन् । उनले सुरुमा प्रहरीसंग भागरथीलाई आफैंले हत्या गरेको स्वीकार गरेका थिए । तर केही दिन अगाडिबाट दिनेशले बयान फेरेका हुन् ।
उनको परिवारको दावी अनुसार दिनेशले अहिले भागरथीको हत्या आफूले नगरेको बताएका छन् । दिनेशका बुबा दीपकराज भट्टले सुरुमा भागरथीको हत्या तथा बलात्कार दिनेशले नै गरेको स्वीकार गरेका थिए । तर अहिले आएर दिनेशका बुबाले पनि आफ्नो छोराले अन्य व्यक्तिको दवावका कारण बलात्कार तथा हत्या स्वीकार गरेको र घटनामा अन्यको संलग्नता रहेको बताएका छन् ।
दिनेशका बुबा दीपकराजका अनुसार दिनेशले हत्या नगरेको, घटना देखेको तर घटना गराएकाले कसैलाई भने परिवार तथा बुबालाई मारिदिने धम्की दिएपछि दिनेशले घटनामा आफ्नो संलग्नता भएको स्वीकार गरेका हुन् । दीपकराजले घटनामा संलग्न भएका २ जनालाई आफूले राम्रोसंग चिन्ने दावी पनि गरेका छन् ।
घटनामा संलग्न २ जनामध्य १ जना गाउँपालिकाका कर्मचारी रहेको दिनेशले आफूलाई बताएको दीपकराजले बताएका छन् । दिनेशलाई चक्कु देखाउँदै घटनामा संलग्न भएको स्वीकार गर्न र नगरेको अवस्थामा परिवारलाई नै मार्ने धम्की दिएपछि उनले बाध्य भएर घटनामा संलग्नता स्वीकार गरेको उनले दावी गरेका छन् । दिनेशले बताएको नामका विषयमा अनुसन्धान गर्नुपर्ने उनले माग गरेका छन् ।
यता मुख्य अभियुक्तले नै बयान फेरेपछि भागरथीका आफन्तले फेरी छानविन गर्न माग गरेका छन् । छानविन गरेर घटनामा संलग्न सबैलाई कारवाही हुनुपर्ने भागरथीका दाइ केशवराज भट्टले माग गरेका हुन् । आफूले पनि दिनेशले बयान फेरेको कुरा सुनेको र केही नाम पनि बताएको भन्दै केशवराजले दिनेशले उल्लेख गरेको नामका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न उनले माग गरेका छन् । दिनेशले फेरी पनि झुट बोल्न सक्ने भन्दै केशवराजले त्यतिकै उनलाई विश्वास गर्न नसकिने बताएका छन् ।
यता प्रहरीले दिनेशले सजायबाट उन्मुक्ति पाउन बयान फेरेको बताएको छ । भागरथी बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले अनुसन्धान सक्याएर दिनेश मात्रै घटनामा संलग्न रहेको बताइसकेको छ ।
दिनेशले नै बलात्कार तथा हत्या गरेको दावीसहित प्रहरी प्रतिवेदन बुझाइसकेको छ । जिल्ला महान्यायधिवक्ताको कार्यालयबाट प्रहरीको प्रस्तावित रायअनुसार अभियोगपत्र दर्तासंग थुनछेक बहस पनि सकिएको छ ।
थुनछेक बहस सकिएर अभियुक्त दिनेश बाल सुधारगृहमा पुगिसकेका छन् । यस्तो अवस्थामा अपराधबाट आफूलाई जोगाउन र उन्मुक्ति पाउन दिनेशले आफू घटनामा संलग्न भएको भन्दै बयान फेरेको प्रहरीको दावी छ । भागरथी प्रकरणमा दिनेशमात्र संलग्न रहेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले दावी गरेका छन् ।