निर्दयी एक्साभेटर चालकः महिलालाई ठक्कर दिएर घाइते बनाएपछि जिउँदै खाल्डोमा पुरिदिए

धादिङ । धादिङमा १ जना महिलालाई एक्साभेटरले ठक्कर दिँदा घाइते भएपछि अस्पताल लैजानुको सट्टा एक्साभेटरका चालकले जिउँदो खाल्डोमा पुरिदिएका छन् । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ मा हिजो दिउँसो एक्साभेटरका चालकले ती महिलालाई हिजो सोमबार दिउँसो करिब सवा २ बजेको समयमा ठक्कर दिंदा घाइते भएकी सोही वडाकी ४५ वर्षीय सरस्वती कुमाललाई अस्पताल नलगेर जिउँदै पुरिदिएका हुन् । कुमाल घाँस बोकेर घर गइरहेको समयमा एक्साभेटरले ठक्कर दिंदा घाइते भएकी थिइन् ।

सो एक्साभेटरलाई त्रिपुरा सुन्दरी गाउँपालिकाले सडक खन्नका लागि ठेक्का लगाएको थियो । ठेकेदार कम्पनीको एक्साभेटरले सरस्वतीलाई ठक्कर दिएपछि उनी घाइते भएकी थिइन् । गाउँपालिकाले सल्यानटार सडक मार्ग पिच गर्न सो एक्साभेटर खटाएको थियो ।

घाइते अवस्थामा रहेकी सरस्वतीलाई अस्पताल नलगेर चालकले खाल्डोमा पुरेका हुन् । घटनापश्चात् एक्साभेटरका चालक सोही जिल्लाका भीमबहादुर बुढाथोकी फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । चालकसमेत फरार भएपछि स्थानीयले एक्साभेटर जलाइदिएका छन् । घटनाविरुद्ध स्थानीयले प्रदर्शन गरिरहेकाले महिलाको शव आफन्तले उठाएका छैनन् ।

प्रहरीले प्रदर्शन तथा अवरोधलाई हटाएर महिलाको शव उठाउने प्रयास गरिरहेको भए पनि सफल हुन सकेको छैन । घटनापश्चात् ठेकेदार कम्पनीका व्यक्ति सम्पर्कमा आइसकेको इलाका प्रहरी कार्यालय सल्यानटारका प्रहरी नायब निरीक्षण भानुभक्त आचार्यले जानकारी दिएका छन् । अवरोध हटाउन हाल पीडितका परिवारसंग वार्ता भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पिच गर्ने क्रममा घाँस बोकेर आइरहेकी कुमाललाई सुरुमा ठक्कर दिएको र घाइते अवस्थामा नै खाल्डोमा माटोको धिस्को झारेर एक्साभेटर चालकले पुरिदिएका थिए । सो एक्साभेटर सडक पिचका लागि २ हप्तादेखि उक्त स्थानमा खटिएको गाउँपालिका अध्यक्ष शम्भुकुमार थापाले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...